प्यूठान डायरी

पुस ३०, २०७९ | प्यूठान

प्यूठानको स्वर्गद्धारी नगरपालिकाको बेलबासमा निर्माण गरिएको खानेपानी ट्याङ्की प्रयोगमा नआउँदै चर्किएको छ । एक वर्षअघि २ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण गरिएको १० घनमिटरको सो ट्याङ्की प्रयोगमा नआउँदै चर्किएको हो । खानेपानी आयोजना समेत अलपत्र पर्दा बेलबासका ४२ परिवारले शुद्ध पिउने पानी पाउनबाट वञ्चित छन् ।

प्यूठानका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्न थालेका छन् । जिल्लाका स्वर्गद्धारी नगरपालिका, गौमुखी गाउँपालिका र झिमरुक गाउँपालिकाका पछिल्लो एक सातामा झण्डै एक करोड रुपैयाँ बराबरको नगद तथा गरगहना चोरी भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी शुसिल थापामगरले बताउनुभयो । उहाँका अनुसार ३० बढी घर, विद्यालय, वडा कार्यालय र स्वास्थ्य चौकीमा चोरी भएको छ ।

झिमरुक गाउँपालिकामा चिस्यान केन्द्रको निर्माण थालिएको छ । गउँपालिका ५ स्थित रिपा पाखामा २ करोड १४ लाख रुपैयाँ लागतमा सो चिस्सान केन्द्र निर्माण सुरु भएको गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । आगामी जेठ मसान्तसम्म चिस्यान केन्द्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

प्यूठानमा विभिन्न स्थानमा ओठ तथा तालु फाटेकाहरुका लागि निशुल्क छनोट शिविर सम्पन्न भएको छ । बि एण्ड बि अस्पताल ललितपुर र राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको समन्वयमा गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, माण्डवी गाउँपालिका र जिल्ला अस्पताल बिजुवारमा छनोट शिविर सम्पन्न भएको हो । सो शिविरबाट १४ जनालाई अप्रेशनका लागि छनोट गरिएको छ ।

 


प्रतिक्रिया