रामेछाप डायरी

माघ ५, २०७९ | रामेछाप

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले स्वास्थ्यको पहुँचमा पुग्न नसकेका ग्रामिण भेगमा नागरिकलाई गाउँमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । लिखु तामाकोशी गाउँंपालिका, नेपाल छारेरोग संघ तथा काठमाडौं मोडल अस्पतालको संयुक्त आयोजनामा तामाकोशी अस्पताल रामेछापको सहयोगमा नादहको झट्टेश्वर माध्यमिक विद्यालयमा आयोजित सो शिविरवाट ७ सय नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरिएको हो । गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा विरामीहरु सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन् । शिविरमा स्त्रीरोग, छारेरोग, हाडर्जोनी, नाक कान घाँटी, बालरोग र नसा च्यापिएका लगाएतका ८ प्रकारका रोगहरुको उपचार गरिएको गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो ।

रामेछापमा राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्ने काम अभियानका रुपमा भइरहेको छ । गत मंसिर १२ गते देखि वडा तहबाटै संकलन थालिएको अभियानका क्रममा ३७ हजार ५ सय नागरिकले राष्ट्रिय परिचय पत्रका लागि विवरण भराएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार हालसम्म मन्थली र रामेछाप नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि टोलिले काम सम्पन्न गरेको खाँडादेविमा अन्तिम चरणमा पुगेको, सुनापति र दोरम्बा शैलुङमा विवरण संकलनका लागि वडा तहमा टोलीले काम गरीरहेको सो कार्यालयले जनाएको छ । रामेछापमा कुल ६० हजार ६ सय ९० जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण वुझाएको कार्यालयले जनाएको छ ।

रामेछाप अस्पतालमा जटिल शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी गराउने सेवा प्रभावकारी बन्दै गएको छ । विगत १ बर्षदेखि जिल्लामा नै शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा संचालनमा आएको हो । एक वर्षको अवधिमा ४० जनाको शल्यक्रिया गरिएको रामेछाप अस्पतालका डा. मनोज कुमार यादवले बताउनुभयो । जिल्लामा सुरक्षित सुत्केरी गराउन शल्यक्रिया नहुँदा आमा तथा शिशुले अकालमा ज्यान गुमाउनु पर्ने अवस्थालाई अन्त्य गर्न रामेछाप नगरपालिका र जिल्ला अस्पतालले संयुक्त रुपमा सो सेवा थालेका हुन् । नगरपालिकाले अस्पताल आउने र फर्कदाको एम्बुलेन्स खर्च, सुत्केरीलाई प्रोत्साहन भत्ता, चिकित्सकको तलब लगाएतमा सघाउँदै आएको छ ।

रामेछापमा बाग्मती प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । नेपाल खेलकुद महासंघको आयोजनामा भएको ४ दिने सो प्रतियोगिता वुधबारबाट संचालन भएको हो । बागमती प्रदेशका भक्तपुर र ललितपुर बाहेक ११ जिल्लाको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया