कालीकोट डायरी

माघ १७, २०७९ | कालीकोट

कालीकोटको तिलागुफा ६ जुविथामा १२ वर्षमा एक पटक लाग्ने ऐतिहासिक गाल्जे साँघु मेला सुरु भएको छ । परापूर्व कालमा पतिको निधनपछि सति गएर देवीको अवतार लिएको सत्यदेवीको सम्झना स्वरुप १२ वर्षमा एक पटक माघ पूर्णिमामा यो मेला लाग्ने गरेको छ ।माघ १५ गतेबाट तिला नदीको किनारा गाल्जे साँघुमा सुरु भएको मेला २२ गतेसम्म चल्ने छ । मेलामा कालीकोट, दैलेख, जुम्लालगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् । १२ वर्षमा एक पटक लाग्ने मेला ब्यवस्थित गर्न नगरले सहयोग गरेको तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताउनुभयो ।

कालीकोटका दुई स्थानीय तहले कोरोना कहरको शैक्षिक क्षति रोक्न टोल शिक्षा संचालन गरेका छन् । खाडाचक्र नगरपालिका र शान्नित्रिवेणी गाउँपालिकाले कोरोना महामारीको समयमा विद्यालय बन्द हुँदा भएको शैक्षिक क्षति रोक्न विद्यालय समयभन्दा अघिपछिको समयमा थप सिकाइ क्रियाकलापसहित एक वर्षदेखि टोल शिक्षा संचालनमा ल्याएका हुन् । कोरोना अवधिमा बालबालिकाको सिकाइ उपलब्धी घटेकाले यूनिसेफ नेपालको सहकार्यमा खाडाचक्रका ३९ वटा विद्यालय, ५७ वटा बालविकास केन्द्र र सान्नीत्रिवेणीका २८ विद्यालय र ३७ बाल विकास केन्द्रसहित आधारभूत तहसम्मका १५ हजार बालबालिकालाई लक्षित गरी टोल शिक्षा संचालनमा ल्याइएको बताइएको छ ।

कालीकोटको शुभकालिका गाउँपालिकाका ४ वटा वडामा गर्भदेखि ३ वर्षसम्मका बालबालिका र तिनका अभिभावक लक्षित गरी कोपिला परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा किर्डाक नेपालद्धारा संचालित कोपिला परियोजनाले बालबालिकाको प्रारम्भिक उत्प्रेरणा, स्वास्थ्य र पोषण तथा हिंसारहित अभिभावकत्वका लागि समुह गठन गरी अभिभावक सचेतनाका कक्षा संचालन गरेको शुभकालिका २ का वडाध्यक्ष मनवहादुर शाहीले बताउनुभयो । गत वर्षदेखि सुरु भएको परियोजनाको सहयोगमा वडालाई हिंसा निषेधित वडा घोषणाको तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

दुर्गमका विपन्न नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले ५ वर्षअघि स्थापना भएको रास्कोटस्थित कम्युनिटी हस्पिटललाई नगर अस्पतालका रुपमा रुपान्तरण गरिएको छ । १५ शैयाको अस्पतालमा कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी, पचालझरना, पलाता गाउँपालिका र बाजुराको पूर्वी भेगका विरामी उपचारको लागि आउने गरेको डा. शेरमान गुरुङले बताउनुभयो । अस्पतालबाट ल्याव, फार्मेसी, प्रसूति, खोप, आँखा तथा दन्तसेवालगायतका सुविधा प्रदान हुँदै आएको ।  


प्रतिक्रिया