काभ्रे डायरी

माघ १९, २०७९ | काभ्रे

पनौती नगरपालिकाले युनेस्कोद्वारा प्रस्तावित काभ्रेको पनौती बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन पहल थालेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न सरोकारवाला र समुदायस्तरमा छलफल थालेको नगरपालिकाले जनाएको छ । पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अपुग भएकाले त्यसलाई पूर्णता दिंदै छिट्टै प्रक्रिया अगाडि बढाउन सरोकारवालासँग छलफल सुरु गरिएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताउनुभयो ।

इसिमोड र सिप्रेडको सहयोगमा काभ्रेको नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ । पानीका मुहान सुक्दै गएपछि नमोबुद्ध नगरपालिकाले मुहान संरक्षण कार्यक्रम अन्तर्गत वडा नम्बर–२ का विभिन्न १३ स्थानमा पोखरी खनेको थियो । आर्थिक वर्ष ०७८/७९ को भदौ–असोजमा खनिएका पोखरीका कारण जमिन रसाएर मुल फुटेका थिए । नगरपालिकाका अनुसार सोही वडाका अन्य ३ स्थानमा पनि यस्ता रिचार्ज पोखरी खनिएका छन् । टंयाकीमा संकलन भएर बढी भएको पानी स्थानीयले सिंचाईको लागि प्रयोग समेत गरिएको नगरपालिकाका प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो । हिउँदमा भने पानी केही कम संकलन भएको नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले जानकारी दिनुभयो । सोही ‘रिचार्ज पोखरी’ का कारण पलाएका पानीका मुहानको नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिका हेका, फिनल्याण्डको परराष्ट्र मन्त्रालयका दक्षिण एसिया युनिट निर्देशक लगायत २४ सदस्यीय टोलीले अवलोकन गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघले डिभिजन कार्यालयहरु जिल्लाबाट हटाउनुपर्ने बताएको छ । काभ्रेमा आयोजित राजनीतिक, प्रशासनिक र वित्तीय संघीयताका सवालमा गरिएको दुई दिने कार्यशालामा गोष्ठीमा महासंघले डिभिजन कार्यालयहरु जिल्लाबाट हटाउनुपर्ने निष्कर्ष निकालेको हो । कार्यशालामा गाउँपालिकाले अहिलेसम्म गरेका काम र अबको कार्यदिशा बारे पनि छलफल गरिएको थियो । गोष्ठीले व्यवसाय सम्बन्धी कर एकद्वार प्रणालीबाट उठाउनुपर्ने, ज्ञान केन्द्र, डिभिजन कार्यालय जिल्लाबाट हटाउनुपर्ने, तीनै तहका सरकारको लगानीमा आयोजना बन्नुपर्ने, गाउँ विकासका निम्ति छुट्टै कोष स्थापना गर्नुपर्ने र जिल्ला तहमा रहेका प्रशासनिक खर्च वृद्धि गर्ने कार्यालय स्थानीय तहमै पठाउनुपर्ने निष्कर्ष निकालेक् ाछ । कार्यशालामा ७ वटै प्रदेशका ५५ वटा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको सहभागिता रहेको थियो ।

काभ्रेमा बृहत जिल्ला खेलकुद महोत्सव हुने भएको छ । जिल्ला समन्वय समिति, काभ्रे र जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा शुक्रबाटबाट जिल्ला स्तरीय बृहत खुलकुद महोत्सव हुने भएको हो । महोत्सवमा जिल्लाको १३ वटा पालिकाको सहभागीता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबाले जानकारी दिनुभयो । महोत्सवमा एथ्लेटिक्स, भलिबल, कराँते, डब्लु टि एफ टेक्वान्डो, कब्बडी, चेस, फुटबल, योगा लगायत १२ वटा विधाका खेल हुने अध्यक्ष वाइबाले बताउनुभयो । प्रथम हुनेले३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने टीमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया