पर्वत डायरी

माघ २६, २०७९ | पर्वत

पर्वतको जलजला गाउँपालिकाले निशुल्क लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका नागरिकहरुको लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गदै लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरीब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति लगायत लक्षित वर्गलाई माथि उठाउन पालिकाले लोकसेवा तयारी कक्षा पढाउन थालेको हो । लोक सेवाको तयारी गर्ने उम्मेदवारले जलजला गाउँपालिकाको स्थायी वा अस्थायी बासिन्दा हुनुपर्ने, कम्तिमा १२ अथवा एसईई. उतीर्ण गरेको र उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको, नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नुपर्ने, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य र हालसालै खिचेका दुई वटा फोटा पेश गर्नुपर्नेछ ।

विद्युतीय ठेक्काबाट निर्माणाधिन विकास आयोजनामा कुश्मा–८ चुवाबासीले नियमित अनुगमन र घरलौरी पहरा गर्न थालेका छन् । केहि वर्षअघिदेखि गाउँमा सञ्चालित सडक, खानेपानी, सिंचाई लगायत योजनाहरुमा निर्माण व्यवसायीले लापरवाही गर्दा विकास निर्माण दीगो र टिकाउ नभएपछि उपभोक्ताले सम्बन्धित आयोजना सम्पन्न नहुने बेलासम्म घरलौरी पालो लगाएर पहरा दिन थालेका हुन् । स्थानीय अगुवा लक्ष्मण पौडेल कुलप्रसाद पोख्रेल, ज्ञानेन्द्र केसी लगायतले गाउँमा केहि सडक ढलान, सिंचाई लगायतका आयोजनाको स्टमेटमा भएको निर्माण सामाग्रिको अनुपात नियमित निरिक्षण गर्न थालेका हुन् । आयोजनामा व्यवसायीले छल गर्दै कम गुणस्तरको काम गरेर योजना निर्माण नहुँदै क्षत विक्षद् हुने अवस्थाको अन्त्य गर्न चुवाबासीले यस्तो अभियान सञ्चालन गरेका हुन् ।

कुश्मा नगरपालिकामा राजनीतिक विवादका कारण कार्यपालिका बैठक रोकिएको छ । उपप्रमुख लगायत केहि सदस्यका कारण कार्यपालिका बैठक रोकिएको हो । छलफल चलिरहेको बेलामा दलको तर्फबाट बुंदागत रुपमै कार्यपालिका सदस्य शिवलाल शार्कीले आफू एमालेको प्रमुख सचेतक भएको दाबी गर्दै अरु ९ बुँदा जबरजस्ती ‘एजेन्डा’ का रुपमा प्रस्तुत गरेर बैठक बिथोलेको नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । बैठकमा उप–प्रमुख स्वस्थानी रिजालले दलको नेताको रुपमा प्रस्तुत भई एमालेको तर्फबाट प्रस्तुत एजेण्डालाई कार्यपालिकामा स्थान दिए मात्र बैठक अगाडि बढ्ने अडान लिएपछि बैठक अबरुद्ध भएको सदस्यहरुले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको सभापतिमा रुद्रबहादुर रिमाल तेस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ । हालै सम्पन्न निर्वाचनमा रिमालले ८७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कृष्ण शर्मा गौडेलले ४४ मत पाउनुभयो । एक सय ३४ जनामा मताधिकार भए पनि निर्वाचनमा भने एक सय ३१ जना मात्रै उपस्थित थिए । महिला उपसभापतिमा इश्वरी पाठक, खुल्ला उपसभापतिमा गोविन्द प्रसाद पाध्या, मन्त्रीमा आशिष जोशी, कोषाध्यक्षमा भीष्म मल्ल, उपमन्त्रीमा रुक्मागत सापकोटा निर्वाचित हुनु भएको छ ।


प्रतिक्रिया