जुम्ला डायरी

माघ २७, २०७९ | जुम्ला

रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे गरिने भएको छ । चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी सो सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा ‘थोदुङ बाचन जेभी कम्पनी’ लाई दिइएको छ । निर्माण कम्पनीले चालु आर्थिक बर्षको असार मसान्त भित्र कालोपत्रे सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनका–सुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताउनुभयो । फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुने सूचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

जुम्लाको तातोपानी गाउँपालिकाले पहिलो पटक पालिका गान र लोगो बनाउन लागेको छ । आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटन र भौगोलिक बनावट समावेश गरिएको पालिका गान र लोगो बनाउन लागिएको हो । पालिका गान र लोगोले तातोपानीको पहिचान स्पष्ट पार्ने गरि लोगो र गान बनाइन लागिएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले बताउनुभयो । सो पालिका सबै हिसाबले अब्बल भए पनि पहिचान हुन नसक्दा पछाडि परेको बठायतको भनाई छ । पालिका गान र लोगोले तातोपानीको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक बनावटको पहिचान झल्किने आशा गरिएको गाँउपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।  

जुम्लामा चिसो बढेसँगै त्यहाँका स्थानीयलाई न्यानो कपडा बितरण गरिएको छ । जुम्लाको न्युतम तापक्रम माइनस डिग्री सेल्सिएसमा पुगेपछि चिसोबाट बच्न तातोपानी गाँउपालिका वडा नम्बर ६ ले न्यानो कपडा बितरण गरेको हो । आर्थिक रूपमा पिछडिएका वर्ग, एकल महिला तथा ६० वर्षभन्दामाथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको ६ नम्बर वडाका अध्यक्ष बिशाल खड्काले बताउनुभएको छ । 

जुम्लामा आगलागीमा परि एक किशोरीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका १ ठिन्केस्थित लोगबहादुर भण्डारीको घरमा आगलागी हुँदा १६ वर्षीया बन्दना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो । मध्य राति आगलागी हुँदा सुतिरहेको अवस्थामा भण्डारीको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । माटोको ३ तले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।


प्रतिक्रिया