तनहुँ डायरी

चैत्र १, २०७९ | तनहुँ

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी तनहुँले दमौलीमा ‘व्यास कोशेली घर’ सञ्चालनमा ल्याएको छ । व्यास नगरपालिका ३ मालपोत लाइनमा सञ्चालन गरिएको सो कोशेली घरमा घरेलु उद्योगमा उत्पादित वस्तुदेखि तनहुँको मुख्य उत्पादन मास, पिडाँलुदेखि वन जंगलमा पाइने गिठ्ठाभ्याकुर राखिएको छ । स्थानीय स्तरका कृषि उपज रसाना उद्यमीको उत्पादनलाई सुपथ मुल्य र सहज बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याइएको महिला उद्यमी तनहुँकी अध्यक्ष कल्पना गौलीले बताउनुभयो ।

तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकामा सोलार लिफ्ट सिंचाई योजना सम्पन्न गरिएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भिमाद–७ को सिस्नेरीस्थित ठूलो फाँटमा सोलारको माध्यमबाट पानी लिफ्ट गरी सिंचाइको व्यवस्था गरिएको हो । निर्माणसम्पन्न योजना उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिंचाइ विकास डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले बताउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा एक करोड २९ लाख रुपैयाँमा २३ धारा र सिस्नेरीमा ७९ लाख रुपैयाँको लागतमा २७ धारा निर्माण गरी सो सिंचाईको व्यवस्था मिलाइएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ताबाट स्वयम् सेवक शिक्षकलाई तलब खुवाउने गरिएको छ । चालु आर्थिक वर्षबाट बैठकको भत्ताले शिक्षकलाई तलब खुवाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । गाउँपालिकाले प्रति महिना २० हजार रुपैयाँ तलब खुवाउने गरि १३ जना स्वयम् सेवक शिक्षक नियुक्त गरेको छ । ती मध्ये १२ जनालाई गाउँपालिकाको आन्तारिक श्रोत र एक जनालाई बैठकको भत्ताबाट तलब खुवाउने गरिएको हो । १५ जना कार्यपालिका सदस्यलाई प्रत्येक बैठकमा ८ सय ५० रुपैयाँका दरले भत्ता प्राप्त हुने गरेको छ ।

तनहुँको म्याग्दे गाउँपालिकाले पालिका भित्रका विभिन्न १ सय ६० स्थानको माटो परीक्षणका लागि नमुना संकलन गरेको छ । गाउँपालिकाको ७ वटै वडाका ती स्थानबाट माटोको नमुना संकलन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले बताउनुभयो । उहाँका अनुसार ६० वटा नमुना माटोको रिपोर्ट प्राप्त भइसकेको छ । प्राप्त रिपोर्टमा म्याग्देको अधिकांश माटोमा पोटासको मात्रा कम रहेको र खाद्य तत्व नाईट्रोजन र फस्फोरसको मात्रा भने मध्यम रहेको पाइएको छ । संकलित माटोको नमूना माटो तथा मल परीक्षण प्रयोगशाला, पोखरामा पठाइएको छ । 


प्रतिक्रिया