म्याग्दी डायरी

चैत्र २, २०७९ | म्याग्दी

म्याग्दीको बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत आमाहरु माध्यामिक शिक्षा परीक्षा एसईईको तयारीमा व्यस्त छन् । उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत ३५ देखि ५७ वर्ष उमेरका ९ जना आमाहरु चैत १७ बाट सुरु हुने एसईई परीक्षाको चटारोमा छन् । औपचारिक शिक्षा नपाएका वा कक्षा छोडेका वयस्कलाई शिक्षाको मुलधारमा ल्याउन २०७३ सालदेखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय खुलेको थियो । सो विद्यालयबाट यस वर्ष एसईई परीक्षामा दोस्रो ब्याचका ९ जना आमाहरु सहभागी हुँदै छन । सरकारको निरन्तर शिक्षा अर्न्तगतकै अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम हो । यस्ता विद्यालयलाई शिक्षा विभागले परिचालकलाई न्यूनतम पारिश्रमिक र पाठ्यपुस्तकमा न्यून अनुदान बेनी नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।

सदरमुकाम बेनीस्थित पर्यटन सूचना केन्द्र विगत तीन वर्षदेखि बन्द छ । पर्यटकको जानकारी राख्न बेनी नगरपालिका, पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघले संयुक्त रुपमा संञ्चालन गरेको पर्यटन सूचना केन्द्र अहिले बन्द मात्र होईन अलपत्र परेको छ । सूचना केन्द्रको बाहिर बसपार्क क्षेत्रका ब्यवसायीले आ–आफ्ना घरबाट निक्लेका कवाडीजन्य सामान ल्याएर थुपारेका छन् । ०७५ वैशाख ३१ गते उद्घाटन गरिएको म्याग्दी पर्यटन सूचना केन्द्र कोरोना कहरसँगै बन्द भएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले कोरोना महामारीले बन्द भएको सूचना केन्द्रलाई थप ब्यवस्थितसहित सञ्चालनमा ल्याउने तयारी भईरहेको बताउनुभयो ।

बेनी नगरपालिका–४ तातोपानीमा प्राकृतिक चिकित्सालय खोल्ने योजना अलपत्र परेको छ । नेपालमा पहिलो पटक प्राकृतिक तातोपानीसँग जोडेर तातोपानी कुण्ड ब्यवस्थापन समितिले साउना स्नान, थेरापी र योगालाई जोडेर ‘तातोपानी सामुदायीक प्राकृतिक चिकित्सालय’ संञ्चालन गर्न लागिएको हो । संस्था दर्ता ऐन अर्न्तगत दर्ता भएको तातोपानी कुण्ड ब्यवस्थापन समिति मार्फत प्राकृतिक सामुदायीक चिकित्सालय संञ्चालन तयारीमा रहेको बेला बेनी नगरपालिकाले कम्पनी दर्ता ऐन अर्न्तगत दर्ता भै संञ्चालन गर्न भनेपछि चिकित्सालय संञ्चालन योजना अलपत्र परेको हो ।

म्याग्दीका पुराना सहरले साख गुमाउँने र नयाँ नगर/गाउँपालिकाका मुकाममा सहरीकरण सुरु भएको छ । पालिका मुकाम रहेका बस्तीका परम्परागत ढुङ्गेघर भत्काएर आरसीसी भवन बनाउने, उर्वर धान खेत मासेर घडेरी बेच्ने र नयाँ–नयाँ घर बनाउने क्रम तीव्र छ । घडेरीको मूल्य आकासिएको छ । होटल तथा सबै खाले पसलहरु थपिएका छन् । बैंक तथा वित्तीय संस्थाहरु गाउँ–गाउँ पुगेका छन् । गाउँपालिका केन्द्र तोकिएपछि घर र जग्गाको मूल्य र संख्या तीन गुना बढेको मंगला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताउनुभयो । मंगलाको बाबिया चौरको मात्र नभई रघुगंगा गाउँपालिकाको मौवाफाँट र अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरे बगर, मालिकाको दरवाङ्गमा तीब्र गतिमा बस्ती बिस्तार भईरहेको छ । 


प्रतिक्रिया