लमजुङ डायरी

चैत्र १२, २०७९ | लमजुङ

लमजुङमा चालु आर्थिक वर्षको ८ महिनामा ५५ जना क्षयरोगका नयाँ विरामी भेटिएका छन् । खकार जाँच गर्दा किटाणुमा क्षयरोग देखिएका ३२ जना, खकार जाँच गर्दा तर, किटाणु नदेखिएकोमा एक्सरेलगायत अन्य जाँच गर्दा डाक्टरले पत्ता लगाएका १२ जना र फोक्सोबाहेक शरीरका अन्य भागमा क्षयरोग देखिएका ११ जना विरामी फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा धेरै बेंसीसहर नगरपालिकामा १६ जनामा क्षयरोगी देखिएका छन् । कार्यालयका ल्याब टेक्निसियन निरीक्षक निरोजकुमार श्रेष्ठले क्षयरोग लागेका बिरामीको नियमित रुपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको बताउनुभयो ।

लमजुङको होमस्टेमा आउने पाहुनाले अव रैथाने बालीको परिकार उपभोग गर्न पाउने भएका छन् । कृषि ज्ञान केन्द्रले होमस्टे संचालकलाई ३ दिनको तालिम दिएर गाउँ पठाएका छन् । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख वरिष्ठ बाली विकास अधिकृत सुदिप खतिवडाका अनुसार उनीहरुले कोदो, फापर, लट्टे, कागुनो, सिस्नोलगायतको परिकार बनाउन सिकेका छन् । रैथाने बालीबाट रोटी, विस्कुट, निमकिन, हलुवा, मःमः, पिज्जा, दुनट, खिर, सिन्की चाउचाउ बनाउने तरिका सिकेको खतिवडाले बताउनुभयो ।

बेसीशहर नगरपालिका १० बाँझखेतको कल्लेरी गाउँ सडक सञ्जालमा जोडिएको छ । बेंसीसहर नगरपालिकाको सबै बस्तीसम्म सडक निर्माण भए पनि कल्लेरी गाउँमा हालसम्म सडक पुगेको थिएन । सडक सञ्जालले जोडिएसंगै कल्लेरी गाउँमा मोटर गुड्न थालेको स्थानीय अनिल गुरुङले बताउनुभयो । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जीवन निर्वाहको एउटा माध्ययम सडक भएकाले सडक पुगेसंगै नागरिकका दैनिकीमा परिवर्तन आउने दावी गर्नुभयो । बेंसीसहर नगरपालिकाको २२ लाख र प्रदेश सांसद विकास कोषको ७ लाख गरी २९ लाख रुपैयाँमा खासुरदेखि कल्लेरी सम्मको साँढे १ किलोमिटर सडक निर्माण गरिएको हो ।

र्मस्याङ्दी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरु भएको छ । गर्भवती महिलाको निःशुल्क गर्भ जाँच गराउन गाउँपालिकाले एक ठाउँबाट अर्को ठाउँमा सजिलै लान सक्ने भिडियो एक्स्रे मेशिन ल्याएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले ग्रामीण अल्ट्रासाउण्ड मेसीन खुदी स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको र सेवा सुरु गरिएको बताउनुभयो । गर्भ जाँच गर्न महिलाहरु टाढा–टाढा, देखि सदरमुकाम बेंसीसहर धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँमै सेवा दिन थालिएको स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि गाउँपालिकाले ४ लाख रुपैयाँमा ग्रामीण अल्ट्रासाउण्ड उपकरण खरिद गरेको हो ।


प्रतिक्रिया