सर्लाही डायरी

चैत्र १४, २०७९ | सर्लाही

ठेकेदार कम्पनीकै आलटालका कारण सर्लाहीस्थित हुलाकी सडक कालोपत्रको कामले गति लिन सकेको छैन । सडक नबन्दा स्थानीय वर्षौदेखि सास्ती भोग्न बाध्य छन् । कुल ४२ किलोमिटरको हुलाकी सडक पाँच वर्ष भित्र कालोपत्र गर्ने गरी २०७३ सालमा तीन वटा प्याकेजमा ठेक्का लागेको थियो । सडक कालोपत्रको ठेक्का लागेको छ वर्ष भइसक्दा पनि काम सम्पन्न हुन सकेको छैन । हुलाकी सडक आयोजना जनकपुरका प्रमुख कृष्णकुमार महतोले ठेकेदारको बहानाबाजी सहित स्थानीयको अवरोधकाबीच पछिल्लो समय हुलाकी सडकको कामले गति लिएको दाबी गर्नुभयो ।

सर्लाहीका सामुदायिक विद्यालयमा छात्र भन्दा छात्राको संख्या बढेको छ । पछिल्लो समय छोरीले पढाई प्रति देखाएको रुची तथा अभिभावकको छोरी पढाउने चाहनाले सामुदायिक विद्यालयमा छात्राको संख्या बढेको हो । कतिपय अभिभावकले छोरा निजी विद्यालय तथा छोरीलाई सामुदायिकमा पढाउने गरेकाले पनि सामुदायिकमा छात्राको संख्या बढेको पाइन्छ । जिल्लाका ४ सय ५१ सामुदायिक विद्यालयमा अध्ययनरत २ लाख ४१ हजार ४ सय १५ विद्यार्थीमध्ये १ लाख २० हजार ८ सय ५८ छात्रा तथा १ लाख २० हजार ५ सय ४२ छात्र छन् । सामुदायिक विद्यालयमा छात्राको संख्या ३ सय १६ ले बढी रहेको शिक्षा तथा समन्वय इकाई कार्यालयले जनाएको छ ।

सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्ग फराकिलो पार्ने काम चलिरहेको छ । बजार साँघुरो भएपछि राजमार्ग विस्तारको लागि धमाधम काम चलिरहेको हो । सडक डिभिजन कार्यालय चपुरका अनुसार राजमार्गमा हाल कालोपत्र रहेको भागबाट तीन–तीन मिटर थप कालोपत्रको काम हुनेछ । कालोपत्र गर्नका लागि राजमार्गमा बेस बनाउने काम भइरहेको छ । जिल्लाको सबैभन्दा ठूलो ब्यापारिक केन्द्रको रुपमा रहेको लालबन्दी बजारमा राजमार्ग साँघुरो भएपछि समस्या हुँदै आएको थियो । 


प्रतिक्रिया