रामेछाप डायरी

चैत्र १६, २०७९ | रामेछाप

रामेछापको रामपुर र आसपासमा उत्पादित ‘राज्मा’ देशका प्रमुख शहरमा पुगेको छ । ‘चारघरे’ ब्राण्डको नाममा रामेछापको राजमाले बाहृय बजार लिन थालेको हो । यसअघि स्थानीय बजारमा मात्र राजमा सीमित थियो । रामेछाप नगरपालिकाले रामपुरलाई गेडागुडीको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य लिएपछि किसानहरुले राजमाको व्यावसायिक खेती थालेका थिए । रामपुरमा वार्षिक ५० मेट्रिक टन भन्दा बढी राजमा उत्पादन हुँदै आएको छ । रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले नगरको उत्पादनलाई आन्तरिक मात्र नभई विश्व बजारमा जान सक्ने प्रतिस्पर्धात्मक र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिनुभयो ।

विगत चार महिनादेखि बन्द रहेको रामेछाप विमानस्थल सञ्चालनमा आएको छ । सगरमाथा क्षेत्रतर्फ जाने पर्यटकलाई लक्षित गरी विमानस्थलबाट उडान र अवतरण थालिएको हो । बसन्त ऋतुका लागि रामेछाप विमानस्थलबाट सोलुको लुक्लातर्फ निजी क्षेत्रका तारा, सिता र समिट एयरले उडान थालेका छन् । केहि दिनदेखि रामेछाप विमानस्थलमै जहाजलाई रात्रीकालिन पार्किङ गरेर उडान थालिएको रामेछाप नागरिक उडड्यन कार्यालयले जनाएको छ । यसअघि सन् २०२२ को नोभेम्बरसम्म रामेछापबाट लुक्लाको उडान हुने गरेको थियो ।

मन्थली आसपाको जंगलमा केहि दिनदेखि लागेको डडेलो अझै निभाउन सकिएको छैन । सोमबारदेखि विभिन्न जंगलमा डडेलो फैलिएको हो । २८ वटा सामुदायिक वनमा एकै साथ लागेको डडेलो अधिकांश स्थानमा निभेको भएपनि अझै १० वटा जंगलमा लागिरहेको छ । वनमा सुनियोजित रुपमा आगो लगाइएकोले महामारीको अवस्था श्रृजना भएको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्ला विपद व्यवस्थापन समितिले सबै सामुदायिक वनका पदाधिकारी र स्थानीयलाई डडेलो निभाउनका लागि सक्रिय हुन आग्रह समेत गरेको छ ।

खाँडादेवी गाउँपालिका–५ को वडा कार्यालय भवन निर्माणको स्थान विवादले उग्र रुप लिएको छ । साविक पकरवास गाविस रहेको स्थानमा वडा कार्यालयको भवन निर्माण गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका छन् । साविकको पकरवास गाविस टुक्रिएर २ वटा वडा कार्यालय बनेकोले सो स्थान कुनै वडाको केन्द्रको लागि पायन नपरेको स्थानीयले बताए । वडा नम्बर ४ ले केन्द्र छनोट गरी भवन निर्माण गरिसकेको छ । सो वडा नजिकै पर्ने ठाँटीमा ५ नम्बर वडाको भवन निर्माण गर्न थालेपछि वडाबासी विरोधमा उत्रिएका हुन । उनीहरुले वडाको बिच केन्द्र पारेर भवन निर्माण गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया