रुकुम डायरी

चैत्र १८, २०७९ | रुकुम

रुकुम पश्चिम जिल्ला अस्पतालबाट फिजियोथेरापी सेवा सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयले यही चैत ११ गतेदेखि जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालन गरेको धेरै नभएकाले फाट्टफुट्ट सेवाग्राही आइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बिरामीको सहजताका लागि फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार फिजियोथेरापी सेवा सञ्चालमा आएसँगै हड्डी भाचिएको उपचारसँगै नसा सम्बन्धी समस्या भएका बिरामीले सेवा लिईरहेका छन् ।

हिउँदे बाली काट्ने समयमा झरी पर्न थालेपछि रुकुम पश्चिमका किसान चिन्तित छन् । हिउँदमा पानी नपरेर उत्पादन घट्ने चिन्तामा रहेका किसान हिउँदे बाली भित्र्याउने समयमा परेको झरीको कारण थप मर्कामा परेका हुन् । जिल्लाका केहि ठाउँमा हिउँदे बाली काट्न सुरु भईसकेको छ । चैते झरिसँंगै असिना पनि पर्ने भएकाले बालीमा क्षति गर्ने भन्ने चिन्ताले किसानलाई सताएको छ । गहुँ काट्ने बेलामा परेको पानीका कारण समस्या भएको स्थानीय किसान कर्णबहादुर खत्रीले बताउनुभयो ।

यही चैत्र २३ र २४ गते मुसीकोट नगरपालिका–१ सल्लेमा निशुल्क आँखा अप्रेशन शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योतिसंघ आँखा उपचार केन्द्र सल्लेको आयोजना, मुसीकोट नगरपालिका र आई केयर नर्वेको आर्थिक सहयोग र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । शिविर मार्फत मोतियाबिन्दु र अन्य आँखा सम्बन्धी समस्या भएकाहरुले सेवा लिन पाउने आँखा उपचार केन्द्रका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

रुकुम पूर्वमा घर पालुवा पशुलाई संक्रामक रोगबाट बचाउन खोप अभियान थालिएको छ । जिल्लाको विभिन्न ठाउँमा अहिले खोप अभियान चलेको हो । भेडाबाख्रामा लाग्ने संक्रामक पीपीआर, बंगुर तथा संगुरमा लाग्ने स्वाइन फिवर, कुखरामा लाग्ने रानीखेत र गोरु, गाई र भैंसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सुरु भएको हो । जिल्लाको लागि ७९ हजार डोज खोज प्राप्त भएको छ । केन्द्रीय खोप प्रयोगशालाबाट खोप प्राप्त भएपछि पशुलाई विभिन्न रोगबाट बचाउन किसानको घरदैलोमै पुगेर खोप दिईन थालेको छ । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयको आयोजना र विभिन्न स्थानीय तहको समन्वयमा ‘खोप अभियान’ सञ्चालन गरिएको हो । दुई हप्तामा चार हजार ६ सय ९० डोज खोप लगाईएको कार्यालयका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।  


प्रतिक्रिया