मकवानपुर डायरी

चैत्र २६, २०७९ | मकवानपुर

राक्सिराङ गाउँपालिका जनताको घरघरमा पुगेर सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोली नै जनताको घरघरमा सेवा दिन थालेको हो । गाउँपालिकाले प्रदान गर्ने सेवाहरुमा सहज पहुँच नभएर वञ्चितिमा परेका विकट भेगका बासिन्दाहरुलाई लक्षित गर्दै राक्सिराङ गाउँपालिकाले मिति नै तोकेर शिविर सञ्चालन गरेको हो । शिविरमा स्वास्थ्य सेवा, कृषि बीउ बिजन वितरण, पशु औषधि वितरण, आयुर्वेद सेवा, गरिब परिचयपत्र वितरण सेवा र ज्येष्ठ नागरिक, अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जााच र निःशुल्क औषधिको समेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

बाग्मती प्रदेशमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बजेट खर्च निराशाजनक रहेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय, हेटौंडाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को २४ दशमलब १२ प्रतिशत मात्र बजेट खर्च भएको छ । बर्सेनि बजेटको आकार बढ्दै गए पनि विकास खर्च हुने दर भने बढ्न नसकेको हो । चालु आर्थिक वर्षका प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । विनयोजित बजेटको फागुन मसान्तसम्म जम्मा १७ अर्ब ११ करोड ८ लाख रुपैयाँ मात्र खर्च भएको नियन्त्रण कार्यालयका सुचना अधिकारी होमनाथ रिजालले बताउनुभयो । चालु आर्थिक वर्षको आठ महिनामा चालु खर्च ९ अर्ब २४ करोड ४२ लाख अर्थात ३४ दशमलब १४ प्रतिशत खर्च गरेको छ । पुँजीगत खर्चतर्फ १७ दशमलब ३६ प्रतिशत अर्थात् ७ अर्ब २६ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ । वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन भएकामा प्रदेशले ६० करोड रुपैयाँ अर्थात् ३० प्रतिशत खर्च गरेको नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेशमा रहेका १ सय १९ स्थानीय तहलाई प्रदेश सरकारले आठ महिनामा ५ अर्ब १६ करोड ९८ लाख अर्थात् ६१ दशमलब १६ प्रतिशत खर्च गरेको छ ।

खानेपानी व्यवस्थापन बोर्ड हेटौंडामा उपभोक्ताले मासिक महसुल रकम अग्रिम भुक्तानी गर्न थालेका छन् । खानेपानीको सुविधा विश्वसनीय भएसँगै महसुल भुक्तानी गर्न उपभोक्ताले बिलिङको समय नै नकुरी अग्रिम भुक्तानी गर्ने क्रम बढेको हो । अहिले हेटौंडा खानेपानी बोर्डमा अग्रिम भुक्तानी रकम ७० लाख रुपैयाँ रहेको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । गत आर्थिक वर्षको अन्तिममा ६८ लाख रुपैयाँ रहेको अग्रिम भुक्तानी रकम अहिले बढेर ७० लाख रुपैयाँ पुगेको हो । बोर्डले आफ्ना २३ हजार उपभोक्ताको धाराको मासिक महसुल वापत करिब एक करोड रुपैयाँ बिलिङ गर्ने गरेको छ । बोर्डले अग्रिम भुक्तानी गर्ने उपभोक्ताका लागि बिलिङ रकमको ५ प्रतिशत छुट दिने व्यवस्था समेत गरेको छ । बोर्डले अहिले दैनिक १ करोड ८५ लाख लिटर पानी उपभोक्तालाई वितरण गर्दै आएको छ ।

हेटौंडा–११ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपन वडा घोषणा गरिएको वडा अध्यक्ष जुना दाहालले जानकारी दिनुभयो । वडा अध्यक्ष जुना दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो । पूर्ण खोप सुनिश्चित वडा घोषणाका लागि ४ जना स्वास्थ्य स्वयंसेविकाहरुले तथ्यांक संकलन गरी आवश्यक तयारी गरेर पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको वडा अध्यक्ष दाहालले बताउनुभयो । गत आर्थिक वर्षमा वडाका १ सय ६० बालबालिकालाई पूर्ण खोप लगाइएको र चालु आर्थिक वर्षमा १ सय ५६ बालबालिका पूर्ण खोप लगाउने सूचिमा समेटिएको थियो ।


प्रतिक्रिया