रुकुम पश्चिम डायरी

वैशाख ९, २०८० | रुकुम पश्चिम

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाा दिने भएको छ । प्रोत्साहन स्वरुप चालु आर्थिक वर्ष २०८९/०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले जनाएको छ । जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख पुष्पवादीले जानकारी दिनुभयो । यो आर्थिक वर्षदेखि विवाह गर्ने अन्तरजातीय जोडीले अबदेखि प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ पाउने उहाँले बताउनुभयो । जस अनुसार यस वर्ष अन्तरजातिय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको छ । वडा नम्बर ३ का सरोज बटाला र ७ की कमला परियारको जोडीलाई १ लाख प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० द्वारा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समस्याको पहिचान तथा सुधारका उपाय सुझाउने गरी गठित विषयविज्ञ सम्मिलित समितिले प्रतिवेदन बुझाएको छ । वडा शिक्षा समितिको गत पुष २२ गते बसेको बैठकले वडाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि समस्याको पहिचान तथा सुधारका उपाय सुझाउन समिति गठन गरेको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा उपप्रध्यापक मुकुन्दप्रसाद शर्मा, सहायक प्राध्यापक दिपक केसी, त्रिभुवन जनता मावि खलंगाका शिक्षक शेरबहादुर खड्का र तिलक खड्का सम्मिलित समितिले वडाका तीन वटा विद्यालयको हालको शैक्षिक अवस्था र सुधार गर्नुपर्ने विषयमा सुझाव सहितको प्रतिवेदन वडा शिक्षा समितिलाई बुझाएको हो ।

उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको त्रिभुवन जनता मावि खलंगाको निमित्त प्रध्यानाध्यापक तोक्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । प्रध्यानाध्यापक हरिप्रसाद खनालले दायर गरेको मुद्धामा आज अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको हो । अदालतले विद्यालयको निमित्त प्र.अ.को जिम्मेवारी दिने सम्बन्धमा गरेका निर्णय, आदेश, तथा सो निर्णय आदेशका आधारमा गरेका अन्य कामकारबाही कार्यान्वयन नगर्नु नगराउनु भनि आदेश गरेको छ । त्यस्तै अदालतले दुबै पक्षलाई बोलाएको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ मा रहेको घोरखानीबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको छ । जङ्गलको ओडारमा लुकाएर राखेको बन्दुक प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठका अनुसार एक नाल र दुई वटा खाली भरुवा बन्दुक भेटिएको हो । भरुवा बन्दुक सिकार खेल्नको लागि ओडारमा राखेको हुन सक्ने आशङ्का गरिएको छ । यसअघि गएको फागुन १४ गते पनि जङ्गलमा चार नाल भरुवा बन्दुक भेटिएको थियो ।

हवस्त रुकुम पश्चिम डायरी आजलाई यति नै महेश केसी बिदा हुन्छु, नमस्कार ।


प्रतिक्रिया