बाँके डायरी

वैशाख ११, २०८०

बाँकेमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम रोकिएको छ । लुम्बिनी प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुल गुणस्तरहीन भएको पाइएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले पूर्व सन्ध्यामा कार्यक्रम स्थगित गरेको हो । कार्यक्रम स्थगित भएसँगै जिल्लाका करीब ९० हजार बालबालिका भिटामिन ’ए’ सेवन गर्नबाट वञ्चित भएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले भिटामिन ए क्याप्सुल खरिद गरी जिल्लामा पठाएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्य कार्यालयलाई भिटामिन ’ए’ अभियान स्थगित गर्न परिपत्र आएपनि स्वास्थ्य कार्यालयले स्थानीय तहलाई जानकारी नगराएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले अभियान स्थगित गरिएको सम्बन्धमा सामाजिक सञ्जालबाट जानकारी पाएपनि स्वास्थ्य कार्यालयले कुनै परिपत्र वा मौखिक जानकारी नगराएको बताएको छ ।

बाँकेका आठमध्ये अधिकांश स्थानीय तहको बेरुजु बढेको पाइएको छ । आठ स्थानीय तहको बेरुजु करीब ७० करोड रुपैयाँ पुगेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकाको बेरुजु धेरै रहेको पाईएको हो । महालेखा परीक्षकको कार्यालयले ६० औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाका आठ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण अनुसार बेरुजु रकम ४५ करोड ४० लाख रुपैयाँ थियो । आव २०७७/०७८ भन्दा आर्थिक वर्ष २०७८/०७९ मा २५ करोड बेरुजु थप भएको छ ।

थारु समुदायमा समस्याका रुपमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई कोहलपुर नगरपालिकाले स्वास्थ्य बीमा गर्ने पहल थालेको छ । कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/०८१ देखि सिकलसेल तथा थालेसेमियाका बिरामीहरुको निःशुल्क स्वास्थ्य बीमा घोषणा गरेको हो । कोहलपुर–१५ मा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धी अभिमुखिकरण पनि गरिएको छ । कार्यक्रममा नगरपालिकाका उप प्रमुख संगीता सुवेदीले बंशाणुगत यो रोगका बिरामीहरुको नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपालगञ्ज रंगशालामा प्रस्तावित भाडादरका विषयमा पुर्नविचारका लागि प्रस्ताव राख्ने बताउनुभएको छ । नेपालगञ्ज रंगशाला एथलेटिक्स सेन्थेटिक ट्रयाक शिलन्यास कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले रंगशालाको परिचालन र व्यवस्थापन दुवै पक्षलाई मिलाएर लैजान आवश्यकता भएको भन्दै भाडादरका विषयमा आफूले पुर्नविचारका लागि प्रस्ताव राख्ने बताउनुभएको हो । नेपालगञ्जमा रहेको रंगशालामा खेल अभ्यासका लागि मात्रैपनि तोकिएको भाडादर नै चर्को भएको प्रसंगमा उहाँले कुनैपनि ठाउँको रंगशालालाई निशुल्क रुपमा प्रयोग गर्न नपाईने स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया