सर्लाही डायरी

वैशाख १२, २०८० | सर्लाही

सर्लाहीमा दिनहुँजसो आगलागीका घटना भईरहेपनि दमकल पुग्न सकिरहेको छैन । कतिपय स्थानमा दमकल पुगेपनि प्राविधिक त्रुटिले आगो निभाउन समस्या हुने गरेको छ । २० स्थानीय तह रहेको जिल्लामा दुई नगरपालिकामा मात्र वारुण यन्त्र छ । उपलब्ध भएका दमकल पनि बिग्रिएर थन्किएका कारण आगलागी हुँदा नागरिकले क्षति ब्यर्होन बाध्य छन् । आगलागीको उच्च जोखिममा रहेका स्थानीयहरु मिलेर दमकल व्यवस्थापन गर्न बारम्बार अनुरोध गरिएपनि स्थानीय सरकारले चासो देखाएका छैनन् । जिल्ला विपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले दमकल बिना आगो निभाउन सम्भव नहुने बताउनुभयो ।

चन्द्रनगर गाउँपालिकाले ४५ जना भूमिहीन, सुकुम्बासी परिवारलाई जोतभोग गर्दै आएको गाउँ ब्लकको जग्गाको प्रमाण पत्र वितरण गरेको छ । नापी कार्यालयको सहयोगमा गाउँपालिकाले भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । नापी कार्यालयले पहिलो पटक कुनै पालिकामा गएर लालपुर्जा वितरण गरेको मलंगवास्गित नापी कार्यालयका प्रमुख संजय मानन्धरले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले राष्ट्रिय भूमि आयोग अन्तर्गत चन्द्रनगरमा लगत संकलन भईसकेको भन्दै आवश्यक प्रकृया पुर्‍याई अन्य भूमिहीन, दलित, सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउने प्रकृया अघि बढेको बताउनुभयो ।

भारतीय गोलभेडाका कारण जिल्लामा उत्पादित गोलभेडाले मूल्य नपाउँदा किसान समस्या परेका छन् । उत्पादनको अन्तिम समयमा समेत मूल्य ओरालो लाग्दा किसान मारमा परेका हुन् । एक साता अघि किसानले किलोको ३० देखि ३५ रुपैयाँमा बेच्दै आएको गोलभेडाको मूल्य अहिले घटेर प्रतिकिलो १२ रुपैयाँ कायम भएको छ । भारतबाट ठूलो परिमाणमा गोलभेडा भित्रिएकाले मूल्य ओरालो लागेको किसानहरु बताउँछन् । अघिल्ला वर्षहरुमा निख्रिने बेलामा गोलभेडाले राम्रो मूल्य पाउने गरेकोमा यस वर्ष भारतीय गोलभेडाका कारण किसानहरु समस्या परेका हुन् ।

चन्द्रनगर गाउँपालिका–३ बडकुर्वामा एउटा आकस्मिक सुरक्षित आवास भवन प्रयोगमा नआउँदै अर्को भवनको शिलान्यास गरिएको छ । संघीय सरकारको लगानीमा यसअघि बडकुर्वामै आवास भवन बनाइएको थियो । सडक मिचेर अवास भवन बनाइएको तथा प्रयोगमा पनि नल्याइएको भन्दै आलोचना भइरहेका बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले फेरि अर्को भवनको शिलान्यास गर्नु भएको हो । निर्माण गरिएको भवन निजी जग्गालाई प्रभाव पार्ने गरी सडकमै बनाइएको भन्दै अदालतमा मुद्दा समेत परेको छ ।   


प्रतिक्रिया