सुर्खेत डायरी

वैशाख १४, २०८० | सुर्खेत

कर्णाली प्रदेशमा औंलोका बिरामीको संख्या निरन्तर घटदै गएको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभर २ सय ८ जना औलो रोगका बिरामी रहेकोमा आर्थिक वर्ष ०७३/०७७ मा घटेर ५१ जनामा झारिएको थियो । तर, आर्थिक वर्ष ०७७/०७८ मा ३४ जनाबाट औलो रोगका बिरामी रहेकोमा बढेर ४८ जना पुगेको थियो । चालू आर्थिक वर्ष २०७९/८० मा पनि २३ जनामा औलो देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । चालू आर्थिक वर्षमा कर्णालीका हुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा औलो रोगका बिरामी भेटिएका हुन् । सुर्खेतमा सबैभन्दा बढी १३ जनामा औंलो रोग देखिएको हो । त्यस्तै हुम्लामा ७ जना, कालिकोटमा २ र दैलेखमा एक जनामा औलोका बिरामी भेटिएको प्रदेश स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका तीन खण्डमध्ये दुई वटाको कामअघि बढेको छ । सम्झौता अनुसारकै समयावधिभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडक खण्ड निर्माणको काम अघि बढाइएको हो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । जसमध्ये दुई वटामा निर्माण सम्झौता भइ काम सुरु भएको हो । विद्यापुर–बल्दे सडक खण्डमा अहिले बाटो कटिङ्को काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो ।

सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई बिरामीको चाप थेग्नै सकस भएको छ । कर्णाली प्रदेशका ९ वटा जिल्ला र सुदूरपश्चिका केही जिल्लाको रिफर सेन्टरका रुपमा रहेको प्रदेश अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढिरहेको छ । अस्पतालमा लुम्बिनी प्रदेशसँगै भारबाट पनि बिरामीहरु उपचारको लागि आउने गरेका छन् । पछिल्लो समय अस्पतालमा दैनिक ८ सयदेखि १ हजार जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । गर्मी बढेसँगै दिन प्रतिदिन अस्पतालमा बिरामीको चाप बढ्दै गइरहेको हो ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै सुर्खेतका स्थानीय तह विद्यार्थी भर्ना अभियानमा जुटेका छन् । अहिले विद्यार्थी भर्नाको लागि स्थानीय तहले अभियाननै सञ्चालन गरिरहेका छन् । वैशाख २ बाट १८ गतेसम्मको लागि पालिकामा विद्यार्थी भर्ना अभियान सुरु भएको लेकबेशी नगरपालिकाले जनाएको छ । पालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले अहिले विद्यार्थी भर्नाको लागि प्रचारप्रसार गर्ने काम भइरहेको बताउनुभयो । पंञ्चपुरी नगरपालिकाले पनि वैशाख ३ गतेबाट पालिकामा भर्ना अभियान थालेको छ । अभियान वैशाख ३० गतेसम्म संञ्चालन हुने पालिकाहरुले जनाएका छन् । ९ वटा स्थानीय तह रहेको जिल्लाका सबै पालिकाहरुले विद्यार्थी भर्ना अभियानलाई अघि बढाएका हुन् । 


प्रतिक्रिया