मकवानपुर डायरी

वैशाख १९, २०८० | मकवानपुर

नेपाली कांग्रेस मकवानपुरले जिल्लाका सम्पूर्ण वडादेखि जिल्ला तहसम्म पार्टीको सम्मेलन आयोजनाको तयारी थालेको छ । पार्टीलाई गतिशिल ढंगले अगाडि बढाउने योजना अन्तर्गत हेटौंडामा भएको वडा तहदेखि जिल्लासम्मको सम्मेलन पूर्व तयारी संयुक्त बैठकले मितिसमेत तय गरेको छ । कांग्रेसको विधानमा उल्लेख भए अनुसार प्रत्येक ६ महिनामा वडा सम्मेलन, कम्तिमा वर्षमा एक पटक गाउँपालिका, नगरपालिका र प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रतिनिधिसभा क्षेत्रीय सम्मेलन, जिल्ला सम्मेलन र प्रदेशसभा सम्मेलन गर्ने व्यवस्था भएकाले मकवानपुरमा कांग्रेसको वडा तहदेखि जिल्लासम्म सम्मेलन हुने भएको हो । आगामी जेठ मसान्तसम्म जिल्लाका एकसय २ वटै वडादेखि जिल्ला सम्मेलनको मिति तय भएको जिल्ला सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय मकवानपुरको राजश्व संकलनमा गिरावट आएको छ । कार्यालयले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा निर्धारण गरेको लक्ष्य भन्दा कम राजश्व संकलन भएको हो । कार्यालयले चालु आर्थिक २०७९/०८० को दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्म ४ अर्ब ४ करोड ३८ लाख रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार चालु आर्थिक वर्षका लागि राजश्व संकलनको लक्ष्य ७ अर्ब ५० करोड निर्धारण गरिएको थियो । कार्यालय लक्ष्य अनुसार राजश्व संकलन गर्न आर्थिक वर्षको अन्तिम चौमासिक अर्थात् ४ महिना भित्र करिब ४ अर्ब रुपैयाँ राजश्व सङ्कलन गर्नुपर्ने हुन्छ ।

मकवानपुरको मनहरी गाउँपालिकामा लम्पी स्किन रोगका कारण दुई दर्जन भन्दा बढी गाईवस्तु मरेका छन् । पछिल्लो समय गाइवस्तुमा देखिएको यो रोगका कारण करिब एक महिनाभित्रमा गाईवस्तु मरेका हुन् । मनहरी–१ नम्बर वडास्थित चकरी मकरीमा १० वटा वस्तु मरेका छन् । ४ नम्बर वडाको नयाँवस्तीमा ५ वटा, ५ नम्बर वटाको दर्दरामा ३ वटा र ९ नम्बर वडाको ज्यामिरेमा २ वटा वस्तु मरेको मनहरी गाउँपालिकाको पशु विकास शाखाले जनाएको छ । लम्पी स्किनको संक्रमण देखिने वित्तिकै पालिकामा रहेका दुईजना प्राविधिक खटिएका छन् । मनहरी गाउँपालिकामा रहेका दुईजना पशु प्राविधिकले मात्रै किसानकोमा पुगेर लम्पी स्किनको उपचार गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।

वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ४ वटा ऐन निर्माण भएका छन् । गत पुस १८ गतेबाट सुरु भएको अधिवेशनमा प्रदेशसभाबाट २ वटा अध्यादेशको प्रतिस्थान र २ वटा विधेयक पास भएका छन् । ती विधेयक पास भए लगत्तै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १ सय ८३ को उपधारा २ बमोजिम वैशाख १२ गते बुधबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका थिए । सरकारले प्रदेशसभा नियमावलीको नियम १११ को व्यवस्था अनुसार ती विधेयक पास गर्नका लागि विभिन्न नियम निलम्बन गरेको हो । नियम निलम्बन संसदीय अभ्यासमा विपरित प्रक्रिया मानिन्छ ।


प्रतिक्रिया