४ हजार ६६५ किसानको व्याज प्रदेश सरकारले तिर्यो

असार २३, २०७७ | वीरगञ्ज

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी लकडाउनमा प्रभावित बनेका कृषकको ऋणको व्याज प्रदेश २ सरकारले तिर्न थालेको छ । 

कृषकहरुमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनिकरण गर्न राहत तथा अनुदान कार्यक्रम अन्तर्गत प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले सोमबार पर्साका ४ हजार ६ सय पैसठी जना किसानको ऋणको व्याज अनुदान वापतको चेक विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई हस्तान्तरण गरेका छन् । 

प्रदेश सरकारले किसानको चैत, बैशाख, जेठ र असार महिनाको व्याज तिरेको हो । पर्साका लागि प्रदेश सरकारले ३ करोड १० लाख रुपैयाँ व्याज अनुदान विनियोजन गरेकोमा २ करोड ९६ लाख ४५ हजार खर्च भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लामा ५ हजार तीन सय ६१ जना निवेदकहरुबाट ५ लाख रुपैयाँ सम्म कर्जा लिएका ४ हजार ६ सय ६५ जना ऋणीको व्याज बापत अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले बताउनुभयो । 

२३ वटा बैंक, २५ लघुवित्त संस्था, २२ वटा सहकारीमाफर्त किसानले कर्जा लिएका थिए । ज्ञान केन्द्रका अनुसार ५ लाख देखि १५ लाखसम्म र १५ लाख देखि ३० लाख सम्म कृषि ऋण लिएका एक हजार ७९ कृषकहरुको व्याज अनुदान अपुग बजेट र आवेदन नमिलेकाले उपलब्ध गराइएको छैन् । 

बजेट आउनासाथ दोस्रो चरणमा बाँकी कृषकलाई व्याज अनुदान उपलब्ध गराउने यादवले बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत चैतमा किसानले लिएको कर्जाको व्याजमा अनुदान दिने घोषणा गरेको थियो । 

यसको लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३६ करोड रुपैयाँ विनियोजन गरेको छ । किसानको चार महिनाको ब्याज मिनाहा गर्दा प्रदेश २ का ८० हजार किसान लाभान्वित हुने जनाइएको छ ।  


प्रतिक्रिया