नेप्से १०४ अंकले बढ्यो, कारोबार रकम घट्यो

आश्विन ६, २०७८ | काठमाडौं

धितोपत्र बजार बुधबार उच्च अंकले उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज १ सय ४ दशमलव ८८ अंकले बढेर २ हजार ८ सय १६ दशमलव ९५ बिन्दुमा पुगेको छ । 

नेप्से उच्च अंकले उकालो लागेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ । नेप्सेमा आज कुल २ सय २७ कम्पनीका ७२ हजार ७ सय १४ कारोबारबाट एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

हिजो १३ दशमलव ८३ अंकले बढेको नेप्सेमा ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक उकालो लाग्दा समग्र बजारमा सुधार देखिएको हो । 

सबै भन्दा बढी वित्तको ८ दशमलव ५४ र विकास बैंक उपसमूहको ७ दशमलव ७४ प्रतिशतले बढेको छ । 


प्रतिक्रिया