रक्सौल–काठमाडौं रेल मार्गको विस्तृत अध्ययन गर्ने सहमति

आश्विन २१, २०७८ | नयाँ दिल्ली

काठमाडौंको चोभारदेखि भारतको रक्सौलसम्म रेल्वे मार्गको अन्तिम बिन्दु सर्भेको विस्तृत अध्ययन गर्ने विषयमा दुई देशबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । नेपाल सरकारको समन्वयमा भारतले सो अध्ययन गर्नेछ । 

बिहीबार नयाँ दिल्लीमा नेपालको रेल विभागका महानिर्देशक दिपक भट्टराई र भारतीय विदेश मन्त्रायका ज्वाइन्ट सेक्रेटरी अनुराग भूषणले एमओयूमा हस्ताक्षर गर्नुभयो । सहमति अनुसार अध्ययन सुरु भएको १८ महिनाभित्र भारतीय पक्षले सर्भेको काम सक्ने छ । त्यस कार्यमा अवश्यक सहयोग, समन्वय नेपाली पक्षको हुनेछ । 

भारतले केही वर्षदेखि रक्सौल–काठमाडौं रेलमार्ग निर्माणका लागि सहयोग गर्ने संकेत गर्दै आएको छ । त्यस कार्यका लागि भारत नियुक्त गरेको कंकोन रेल्वे कर्पोरेस लिमिटेडले सन् २०१८ मा सो रेल मार्गको निर्माण बारे प्रारम्भिक अध्ययन गरेको थियो । त्यस अध्ययनले रेल निर्माणको सम्भावना देखाएपछि विस्तृत अध्ययनको बाटो खुलेको हो । 

दिल्लीमै रहेका रेल विभागका प्रवक्ता अमन चित्रकारले विस्तृत अध्ययनको विषयमा सहमति हुनु रक्सौल–काठमाडौं रेल मार्ग निर्माणका लागि महत्वपूर्ण भएको बताउनुभयो । विस्तृत अध्ययनले रेल मार्ग निर्माणको सन्दर्भमा धेरै पक्षको अध्ययन गर्नेछ । सो अध्ययनबाट रेल मार्ग निर्माण गर्न सकिने रिपोर्ट आएको खण्डमा निर्माण कार्यको बाटो खुल्ने उहाँको भनाई थियो । 

तीन वर्ष अगाडि गरिएको प्रिमिनलरी इन्जिनियरिङ कम ट्राफिक सर्भेले रक्सौलदेखि काठमाडौंको चोभारसम्मको रेल मार्गको दूरी १ सय ३६ किलोमिटर हाराहारी हुने रिपोर्ट दिएको थियो । अबको अध्ययनले रेल मार्गका लागि वातावरणीय, भौगौलिक, भूगर्व लगायत विषयले कति साथ दिन्छ, भन्ने विषयमा पनि विस्तृत अध्ययन हुनेछ । 

बैठकमा सीमा क्षेत्रमा निर्माणाधिन अन्तरदेशीय रेल मार्गको कामलाई गति दिने सहमति भएको हो । भारत सरकारको सहयोगमा जयनगर–जनकपुर–कुर्था–बर्दिबास, बथनाहा–विराटनगर, पानी ट्ंयाकी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगञ्जरोडदेखि नेपालगञ्ज सम्मको रेल लिक निर्माण भइरहेको छ । 


प्रतिक्रिया