अझै लागू भएन इम्बोस्ड नम्बर

रेडियो कान्तिपुर संवाददाता

मंसिर १४, २०७८ | काठमाडौं

सरकारले इम्बोस्ड नम्बर अनिवार्य सूचना प्रकाशित गरेको एक महिना हुन लाग्दा समेत लागू हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मंसिर १ गतेबाट इम्बोस्ड नम्बर अनिवार्य लागू हुने उल्लेख गरेको थियो ।

 मंसिरको दोस्रो साता बित्दा पनि अहिलेसम्म राजपत्रमा तोकिएका प्रदेशमा इम्बोस्ड नम्बर लागू हुन सकेको छैन । यातायात व्यवस्था विभागले आवश्यक तयारी बिना हतारमा निर्णय गर्दा यो नियम लागू गर्न ढिलाई भएको हो । विभागका निर्देशक रामचन्द्र पौडेलका अनुसार अहिले ३१ हजार ७ सय नम्बर प्लेट छापिंदै छ । 

गण्डकी र लुम्बिनी प्रदेशमा ‘इन्ट्रानेट’ जडान गर्ने तयारी भईरहेको भन्दै यसले विभागको सर्भरलाई सम्बन्धित कार्यालयमा जोड्ने काम गर्ने विभागले जनाएको छ । विभागको तयारी ढिलाइले गर्दा बाग्मती बाहेकका प्रदेशमा यो नियम लागू भएको छैन । कर्णाली प्रदेशमा भने मंसिरभित्रै आवेदन दिन मिल्ने व्यवस्था गरिने विभागले जनाएको छ । विभागका अनुसार गण्डकीका लागि १० हजार १ सय ७५, लुम्बिनीका लागि १२ हजार ९ सय ७५, कर्णालीका लागि १ हजार २५ नम्बर प्लेट छापिँदैछ । 


प्रतिक्रिया