पोखरामा आइटी पार्क निर्माणको प्रक्रिया थालियो

मंसिर २२, २०७८ | कास्की

जग्गा अभावका कारण लामो समयदेखि अलपत्र परेको कास्कीको पोखरा महानगरपालिका–१८ स्थित जामुनबोटमा सूचना प्रविधि (आइटी) पार्क परियोजनाको निर्माण कार्य थालिएको छ । 

गण्डकी प्रदेश सरकारको आफ्नै स्वामित्वमा जग्गा अभावमा निर्माण प्रकृया ढिला गरी सुरु भएको कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले जनाएको छ । पोखरा महानगर–१८ स्थित जामुनबोटमा सूचना प्रविधि निर्माण र सञ्चालन गरी डिजिटल गण्डकी प्रदेश बनाउने, साथै प्रदेशलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले सूचना प्रविधि पार्क निर्माण गर्ने योजना सार्वजनिक गरेको थियो । 

पार्कको पहिलो चरणमा कम्पाउण्डिङको लागि टेण्डर आह्वान गरिसकेको कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले बताउनुभयो । पार्कको सम्भाव्यता अध्ययन सकिएपछि निर्माणको प्रकृया सुरु गरिएको मन्त्री थापाको भनाई छ । आइटी पार्क प्रदेश सरकारको प्रदेश गौरवको आयोजना हो । 

संघीय सरकारको नाममा रहेका जग्गाको अधिकार प्रदेशलाई नहुँदा आइटी पार्क जस्ता कयौं आयोजना प्रभावित बनेको मन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जग्गा माग गरेको डेढ बर्षमा स्वामित्व पाएका छौँ, अब प्रकृयामा जान्छौ ।’ 

गण्डकी प्रदेश सरकार गठन भएको पहिलो वर्षमै सार्वजानिक गरिएको सो योजना सरकार गठन भएको चार वर्ष पूरा हुँदासम्म कार्यान्वयनमा आउन सकेको छैन । मन्त्री थापाका अनुसार आइटी पार्क प्रदेश सरकारको महत्वपूर्ण योजनाको रुपमा लिइएको छ । 

२०७६ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संघीय सरकारसँग जग्गा माग गरेको थियो । सोही अनुसार संघीय सरकारकै नाममा रहने तर, जग्गाको भोगाधिकार मात्र प्रदेशलाई हुने गरी संघीय मन्त्रिपरिषद्को २०७७ पुष २० को निर्णयले ९६ रोपनी १३ आना २ दाम जग्गा दिएको मन्त्रालयले जनाएको छ । 

पार्कको कम्पाउण्ड निर्माणको लागि चालू आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ विनियोजन भएको मन्त्रालयका कानून अधिकृत श्रीप्रसाद तिवारीले बताउनुभयो । ‘एक करोड संघीय सरकारको ससर्त अनुदान हो,’ उहाँले भन्नुभयो, ‘७० लाख रुपैयाँ प्रदेशबाटै छुटिएको छ ।’ 

कुल बजेटबाट डीपीआरको लागि ५ लाख रुपैयाँ छुटिएको भएपनि विगतका वर्षमा रकम खर्च हुन नसकेको उहाँको भनाई छ । यस्तै, मन्त्रालयले डीपीआरको लागि संघीय अर्थ मन्त्रालयसँग थप बजेट माग गरेको मन्त्री थापाले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार पोखरा–१८ ग्यारजाती जामुनबोटस्थित रत्न आधारभूत विद्यालयको नाममा रहेको १८३ नम्बरको कित्ता प्रस्तावित सूचना प्रविधि पार्क निर्माण प्रयोजनका लागि गण्डकीलाई उपलब्ध गराएको हो । मन्त्रालयले सो योजनाको लागि गत आर्थिक वर्षमा ३५ लाख रुपैयाँ विनियोजन गरेको थियो । सो रकमबाट सम्भाव्यता अध्ययन गरिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश सरकारले नै सञ्चालन गरेको गण्डकी विश्वविद्यालयबाट यही शैक्षिक सत्रदेखि आइटी कक्षा सञ्चालन भएको छ । यदि आइटी पार्क निर्माण भएको भए पार्क भित्रै आइटीका कक्षा सञ्चालन गर्न सकिने गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले जानकारी दिनुभयो । 

पार्क निर्माण भएपछि आइटीका कक्षा पार्कभित्रै सञ्चालन गरिने उहाँले बताउनुभयो । आइटी कक्षा सञ्चालनको लागि गण्डकी विश्वविद्यालयलाई अधिकार पनि प्राप्त भएको र स्रोत, साधनको पनि व्यवस्था भएको विश्वविद्यालय स्रोतले जनाएको छ ।


प्रतिक्रिया