भारतले दियो नियमित उडानको अनमुति, २७ मार्चबाट ‘एयर बबल’ हट्दै

फाल्गुन २५, २०७८ | नयाँ दिल्ली

भारतले दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । भारत सरकारले आगामी २७ मार्चबाट लागू हुनेगरी भारतबाट विदेश जान र आउनका लागि पूर्ववत: उडानको अनुमति दिने निर्णय गरेको हो । 

कोरोना महामारीका कारण भारतले सन् २०२० मार्च २३ देखि नियमित व्यवसायिक अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाएको थियो । ‘एयर बबल’ सम्झौता अन्तर्गत निश्चित देशहरुबाट सीमित संख्याका उडानहरुको अनुमति दिइएको थियो । 

कोरोनाका कारण सरकारले लगाएको प्रतिबन्धका कारण निजी क्षेत्रका विमान कम्पनीहरुले नियमित रुटमा पनि उडान गर्न पाइरहेको थिएन । यसअघि गत १५ डिसेम्बरबाटै सबै व्यवसायिक तथा नियमित उडानहरुको अनुमति दिने निर्णय सरकारले लिएको थियो । तर, त्यही समयमा कोभिड–१९ को ओमिक्रोन भेरिएण्टको संक्रमण बढेपछि अर्को निर्णय नभएसम्मका लागि सो निर्णयलाई स्थगन गरिएको थियो । 

एयर बबल अन्तर्गत भारतको विभिन्न ३५ वटा देशसँग तोकिएको निश्चित संख्यामा उडान हुँदै आएको छ । भारतले कोराना पूर्वको अवस्था उडानहरुलाई नियमति गर्ने भएपछि काठमाडौंका लागि उडानहरु बढ्ने भएको छ । 

यसअघि कोरोना कालमा नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडानको अनुमति भएको थियो । तर, कोरोनाको संक्रमण कम भएसँगै गत फेब्रुअरी १६ बाट भिस्तारा र इन्डिगोले पनि एयर बबल सम्झौता अन्तर्गतै काठमाडौं उडान थालेका छन् । 

कोरोना पूर्व दिल्ली–काठमाडौं दैनिक ११ वटासम्म फ्लाइट हुँदै आएको थियो । फेब्रुअरी १६ बाट ४ वटा उडान भइरहेको छ । नेपाल एयरलाइन्सले १४ मार्चबाट दैनिक एउटा उडान थप गर्दैछ । 


प्रतिक्रिया