१० करोड लगानीमा ‘होटल पौवा’ को ११ औँ शाखा पोखरामा

पोखरामा सुविधा सम्पन्न होटल पौवाको भवन । तस्बिर : प्रतीक्षा काफ्ले/रेडियो कान्तिपुर । 

चैत्र ८, २०७९ | कास्की

पोखरामा १० करोडको लगानीमा होटल पौवा सञ्चालनमा आएको छ । पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित होटल पौवा प्रालिले ११ औँ शाखा सञ्चालनमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले जानकारी दिनुभयो । 

लेकसाइडको स्ट्रिट नम्बर १ बाट सेवा दिने गरी तयारी पूरा गरेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । होटलको चैत १० गते मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । होटलले १० देखि १३ गतेसम्म ‘पौवा स्वाद उत्सव’ मनाउने तयारी समेत गरेको ज्ञवालीले बताउनुभयो । 

होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण रहेको भन्दै ज्ञवालीले चुनौतीलाई अवसरमा रुपान्तरण गर्न पोखरामा होटल पौवाको शाखा बिस्तार गरिएको उहाँले बताउनुभयो । ‘आन्तरिक र बाहृय पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाउँछौं ।’ 

पौवाका सबै शाखामा गरी करीब ४ सय जनाले रोजगारी पाएका छन् । यस्तै पोखरा शाखामा भने ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् भने, सबै शाखामा १५० भन्दा बढी शेयर सदस्य रहेको कम्पनीका प्रबन्ध निर्देशक ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार १३ औं र १४ औं शाखाको रुपमा नेपालगञ्ज र काठमाडौंमा बिस्तार गर्ने तयारी छ । 

एक सय औं शाखामा पुग्दा होटल पौवाको लगानी अर्बौं पुग्ने कम्पनीले जनाएको छ । सुन्दर बगैँचा सहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईट गरी ३९ वटा सुविधा सम्पन्न कोठा छन् । प्रत्येक कोठा वातानुकूलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । 

कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तूपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । होटलमा दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेका छन् । जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायत विविध कार्यक्रम गर्न सकिन्छ । 

पौवा पोखराको मुख्य आकर्षण एक हजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकैपटक एक हजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाह उत्सव लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ । 

पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्न सकिनेछ । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढीपछि ११ औ शाखाका रुपमा पोखराको गन्तब्य तय गरेको छ । 

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा बिस्तार गर्दै आएको छ । जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा ब्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया