डीडीसीले दूधको रकम भुक्तानी नगर्दा धनकुटा र तेह्रथुमका किसान समस्यामा

भाद्र १६, २०८१ | काठमाडौं

दुग्ध विकास संस्थान (डीडीसी) ले किसानबाट संकलन गरेको दश महिनादेखिको दूधको रकम भुक्तानी नगर्दा धनकुटा र तेह्रथुमका किसान समस्यामा परेका छन् । 

डीडीसीले किसानको बक्यौता रकम भुक्तानी नर्गदा दुई जिल्लाका गरी एक हजार एक सय बढी मर्कामा परेका छन् । डीडीसीले अघिल्लो वर्षको मंसिर दोस्रो सातादेखि हालसम्म धनकुटा र तेह्रथुमका कृषकबाट संकलन गरेको दूधको १४ करोड रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ । 

डीडीसीको लापरवाहीले गर्दा दैनिक जीवनयापन गर्न समेत समस्यामा रहेको कृषकहरुको गुनासो छ । धनकुटाको हिले बजारमा रहेको संकलन केन्द्र र छथर जोरपाटी गाउँपालिकाको सिधुवास्थित सगरमाथा दुग्ध सहकारी मार्फत डीडीसीले दैनिक ३ हजार लिटर बढी दूध संकलन गर्दै आएको छ ।

 दूधको भुक्तानी गर्ने आश्वासन मात्र पाएको दुग्ध उत्पादक जिल्ला सहकारी संस्थाका अध्यक्ष नारद कटुवालले बताउनुभयो । प्रभावित कृषकले बक्यौता रकम भुक्तानीको लागि धर्ना तथा आन्दोलनदेखि प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको उहाँको भनाई छ । 

गाईपालनको लागि बैंकबाट लिएको लाखौं रुपैयाँ ऋण डुब्ने अवस्थामा रहेको कृषकहरुको गुनासो छ । उता, दुग्ध विकास संस्था विराटनगर स्रोतले दुग्धजन्य परिकार बिक्री नभएका कारण गोदाममा थन्किएकोले भुक्तानी गर्न कठिनाइ भएको बताएको छ । 


प्रतिक्रिया