सन् २०२४ मा करीब १२ लाख पर्यटकले घुमे लुम्बिनी
पुस २२, २०८१ | तिलोत्तमा
सन् २०२४ मा बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । सन् २०२३ को तुलनामा २०२४ मा १ लाख ७३ हजार ३ सय जना भन्दा बढीले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
कोषका अनुसार सन् २०२४ मा ११ लाख ७२ हजार ३ सय ४ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका थिए । सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ जना लुम्बिनी आएका थिए । कोभिडपछि पहिलो पटक लुम्बिनी घुम्ने आन्तरिक र बाह्य पर्यटकको संख्या १० लाख नाघेको कोषले जानकारी दिएको छ ।
कोभिड अघि सन् २०१९ मा कुल १५ लाख ५८ हजार ३२६ जना बुद्ध जन्मस्थल घुम्न आएका थिए । सन् २०२४ मा लुम्बिनी आएकामध्ये ७ लाख ५९ हजार ९ सय ९० जना आन्तरिक पर्यटक ररहेका छन् । अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटक १५.८१ प्रतिशतले बढेको हो ।
लुम्बिनीमा भारतीय पर्यटक आगमनले भने नयाँ रेकड कायम गरेको छ । गत वर्ष ३ लाख ८ सय ८९ भारतीयले लुम्बिनी भ्रमण गरे । २०२३ मा २ लाख ६६ हजार ५ सय १० भारतीय लुम्बिनी आएको विकास कोषको तथ्यांकमा उल्लेख छ ।
कोभिड अघि २०१९ मा २ लाख ६ हजार १ सय ७१ जना आए पनि त्यसअघिका वर्ष भारतीय पर्यटकको आगमन २ लाखभन्दा कम नै थियो । २०२४ मा १ लाख १४ हजार ४ सय २५ जना तेस्रो मुलुकका पर्यटक बुद्ध जन्मस्थलमा आएको कोषले जनाएको छ ।
तेस्रो मुलुकका पर्यटकको आगमन ४६.३६ प्रतिशतले बढ्दा पर्यटक आगमनमा सुधार देखिएको छ । २०२३ मा ७६ हजार २ सय १० राहदानीवाहक विदेशी पर्यटक लुम्बिनी आएका थिए ।
कोभिड अघि २०१९ मा १ लाख ७४ हजार १५ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका थिए । २०२४ मा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकमा सबैभन्दा बढी श्रीलंकाका पर्यटक रहेका छन् । गत वर्ष २३ हजार ५६९ श्रीलंकाली आएको कोषले जनाएको छ ।
त्यस्तै थाइल्यान्डबाट २१ हजार ४ सय ९६, चीनबाट १३ हजार १२ जना लुम्बिनी आएका छन् । त्यस्तै म्यानमारबाट १० हजार ५ सय १७, भियतनामबाट ८ हजार ५ सय र दक्षिण कोरियाबाट ४ हजार ६ सय ४६ जना आएको लुम्बिनी विकास कोषले जनाएको छ ।