वाम गठबन्धनको जीत, लोकतन्त्रिकलाई धक्का

मंसिर २४, २०७४ | पाँचथर

-  वाम गठबन्धनको जीतले पाँचथरमा लोकतान्त्रिक गठबन्धनलाई धक्का लागेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, राप्रपा राष्ट्रवादी, नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनलाई नेकपा एमाले, माओवादी केन्द्रको वाम गठबन्धनले फराकिलो अन्तरले पराजित गरेर धक्का दिएको हो ।

नेपाली कांग्रेस र नेकपा एमाले समर्थकबीच झण्डै बराबरको संख्या भएपनि एमालेसित माओवादी केन्द्रवीच वाम गठबन्धन भएपछि कांग्रेसले पनि राप्रपा र राप्रपा राष्ट्रवादीलाई समेत मिलाएर लोकतान्त्रिक गठबन्धन गरेका थिए ।

तर संगठनमा प्रतिवद्ध कार्यकर्ताको बलमा उठेको वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनको निम्ति फलामे चिउरा सरह बन्यो । वामपन्थी गठबन्धनले पाँचथरमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य दुवै क्षेत्रबाट जीत हासिल गरेका छन् । प्रतिनिधि सभा सदस्यका लागि वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका बसन्तकुमार नेम्बाङ, प्रदेश सभा क्षेत्र नं १ बाट एमालेका गणेशकुमार काम्बाङ र क्षेत्र नं २ वाट माओवादी केन्द्रका इन्द्रबहादुर आङबो लिम्बू (मौसम) विजयी भएका छन् ।

एमाले ऊर्जा विभाग सचिव वसन्तकुमार नेम्बाङले प्रतिनिधि सभामा प्रतिश्पर्धी नेपाली कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेलाई दश हजार ६ सय १६ मतको फराकिलो अन्तरले पराजीत गरेका छन् । प्रदेश सभा क्षेत्र नं १ वाट एमाले राष्ट्रिय परिषद सदस्य गणेशकुमार काम्बाङले कांग्रेस सभापति नरेन्द्रकुमार केरुङलाई ४ हजार ९ सय ६२ मतको फराकिलो अन्तरले पराजीत गरे । नेकपा माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य समेत रहेका इन्द्रबहादुर आङबोले कांग्रेसका सुरेन्द्रकुमार दाहाललाई ४ हजार ७ सय ९१ मतको फराकिलो अन्तरले विजय हासिल गरेपछि पाँचथरमा लोकतान्त्रिक पक्षधरलाई वाम गठबन्धनले निकै ठूलो धक्का लगाएको छ ।

मतसंख्या र जीतको आधारमा वाम गठबन्धन बलियो देखिएपछि नेपाली कांग्रेस र एमालेको जनमत बराबर जस्तो देखिएको छ । प्रतिनिधि सभा सदस्यका लागि खसेको मत स्थानीय निर्वाचनको मतपरिणामअनुसार अनुमानित २८ हजार मत कांग्रेसले प्राप्त गरेको छ । एमालेको मत स्थानीय निर्बाचनमा प्राप्त गरेको आधारमा अनुमानित करिब २७ हजार र माओवादी केन्द्रको १२ हजार थियो । दुवै वामपन्थी दलको मत जोडिएपछि वाम गठबन्धनलाई विजय हासिल गर्न सजिलो भएको हो ।

मतपरिणामअनुसार सङ्घीय सांसदको लागि एमालेका बसन्तकुमार नेम्बाङले ३८ हजार ६ सय ४१ र कांग्रेसमा भिष्मराज आङदेम्बेल २८ हजार २५ मत प्राप्त गरेका छन् । प्रदेश सांसदको लागि क्षेत्र नं १ वाट एमालेका गणेश काम्बाङले २१ हजार १० मत र कांग्रेसका नरेन्द्र केरुङले १६ हजार ४८ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ बाट माओवादी केन्द्रका इन्द्र आङवो (मौसम) ले १६ हजार ९ सय ८ मत र कांग्रेसका सुरेन्द्र दाहालले १२ हजार एक सय १७ मत प्राप्त गरेका छन् ।

कुल एक लाख २५ हजार दुई सय १९ जनामध्ये ७७ हजार ८ सय ३ जनाले मतदान गरे । क्षेत्र नं १ मा कुल ६६ हजार २ सय ३३ मतदातामध्ये ४१ हजार ५ सय ८१ र क्षेत्र नं २ मा ५६ हजार ९ सय ९६ मतदातामध्ये ३६ हजार एक सय ५६ जनाले मतदान गरेका छन् । यसमध्ये प्रतिनिधि सभाको ५ हजार ७ सय ३१ र दुई क्षेत्रको ४ हजार ६ सय ५२ गरी दश हजार ३ सय ८३ मत बदर भएको छ । 

यो निर्वाचनले लोकतान्त्रिक गठबन्धनमा सामेल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने ठूलै धक्का लागेको छ । गुट र फुटले कमजोर राप्रपा विगतमा निकै प्रभावकारी रहेपनि नेता कार्यकर्ता माओवादी, कांग्रेस, सङ्घीय समाजवादी, लिम्बूवान र एमालेतीर प्रवेश गरेकाले जनमत गुमाउंदै गएको छ ।  

 


प्रतिक्रिया