दिल्लीमा थप प्रतिबन्ध, रात्रिकालिन कर्फ्युमा एक घण्टा थप

पुस १३, २०७८ | नयाँ दिल्ली

कोरोना भाइरस संक्रमणको बढ्दो गतिलाई मध्यनजर गर्दै भारतको नयाँ दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । दिल्ली विपद व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गरेर स्कूल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गर्न भनेको छ । 

त्यस्तै, रात्रिकालिन कर्फ्यु समय पनि एक घण्टा बढाइएको छ । अब राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका काममा हिँड्डुलमा रोक लगाइएको छ । लगातार तेस्रो दिन संक्रमणदर शून्य दशमलव ५ प्रतिशत भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’ अन्तर्गत केही प्रतिबन्धहरु थप गरिएको हो । 

नयाँ गाइडलाईन अनुसार मेट्रो, बस, रेष्टुराँ ५० प्रतिशत सिट क्षमतामा मात्रै चलाइनेछ । एक महिना अगाडि मात्रै मेट्रोलाई शत प्रतिशत क्षमतामा सञ्चालनमा ल्याएको थियो । मल्टिप्लेक्स, बैंक्वेट हल, अडिटोरियम तथा स्पोर्ट कम्पलेक्स बन्द रहनेछन् । अत्यावश्यक बाहेकका पसलहरु जोर बिजोर दिनका आधारमा सञ्चालन गरिने छ । 

पसलहरुलाई बिहान १० बजेदखि बेलुका ८ बजेसम्म मात्रै खोल्ने अनुमति दिइएको छ । त्यस्तै, विवाह र अन्त्येष्टिमा २० जनाको सहभागिता मात्रै राख्न भनिएको छ । त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाडपर्वको आयोजनाको नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ । 

निजी क्षेत्रका कार्यालयहरुमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देश गरिएको छ । त्यस्तै, धार्मिक स्थलमा बाहिरी व्यक्तिको आवतजावतमा रोक लगाइएको छ । 

मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीबासीलाई गरेको सम्बोधनमा कोरोना संक्रमणको गति बढ्दै गएपनि त्यसलाई लिएर नआत्तिन आग्रह गरेका छन् । उनले यसपटक कोरोना संक्रमणबाट मानिसहरुमा गम्भीर समस्या नदेखिएको साथै सरकारले पनि आफ्नो तयारी पूरा राखेकाले सर्तक रहन तर नआत्तिन भनेका छन् । 

दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या १ सय ६५ पुगेको छ । भारतभरी २१ राज्यमा ओमिक्रोन संक्रमितको संख्या ६ सय ५३ छ । दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ सय ९६ भेटिएका छन् । एकदिन अगाडि सो संख्या ३ सय ३१ थियो । संक्रमण दर ०.८९ देखिएको छ । सक्रिय बिरामीको संख्या १ हजार ६ सय १२ पुगेको छ । 


प्रतिक्रिया