भारत र पाकिस्तानले बुझाए कैदीबन्दीको सूची

पुस १७, २०७८ | नयाँ दिल्ली

भारत र पाकिस्तानले आफ्नो जेलमा रहेका एक अर्का देशको नागरिकको सूची आदान प्रदान गरेका छन् । सूची आदान प्रदानले उनीहरु बारे जानकारी आदान प्रदान भएपनि रिहाईको सुनिश्चितता भने भइसकेको छैन । 

भारतीय विदेश मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार विभिन्न अपराधमा संलग्न २ सय ८२ जना कैदी भारतीय जेलमा छन् । त्यस्तै, ७३ जना मछुआरा (माछा मार्ने क्रममा भारतीय सीमामा प्रवेश गरेका) हरु पनि भारतीय जेलमा छन् । 

विदेश मन्त्रालयले सो संख्याको सूची पाकिस्तानलाई बुझाएको उल्लेख गरेको छ । त्यस्तै, पाकिस्तानले ५१ जना कैदी तथा ५ सय ७७ जना माछा मार्ने भारतीय नागरिकहरु पािकस्तानी जेलमा रहेको सूची भारतलाई दिएको छ । 

नयाँ वर्षमा दुबै देशले कूटनीतिक च्यानलबाट कैदीबन्दीको सूची आदान प्रदान गरेका हुन् । वर्षमा दुई पटकक दुबै देशले एक आपसमा कैदीबन्दीको सूची आदानप्रदान गर्दै आएका छन् । 

सन् २००८ मा भएको सम्झौत अनुसार त्यस्तो व्यवस्था गरिएको छ । प्रत्येक वर्ष जनवरी र जुलाईमा कैदी तथा माछा मार्ने क्रममा एक अर्कोको सीमामा प्रवेश गरेका कारण नियन्त्रणमा रहेकाहरुको सूची एकले अर्कालाई बुझाउँछन् । 

भारतले कैदीबन्दीको रिहाईको माग गर्नुका साथै उनीहरुको स्वास्थ्य तथा मानसिक स्थित परीक्षणका लागि भारतीय चिकित्सकको टीम पाकिस्तानमा पठाउने माग गर्दै आएको छ । 


प्रतिक्रिया