एयर इण्डिया अब टाटाको जिम्मा

माघ १३, २०७८ | नयाँ दिल्ली

भारतीय ध्वजाबाहक विमान सेवा कम्पनी एयर इण्डियाको निजीकरण गरिएको छ । केन्द्र सरकारले बिहीबार भारतको ठूलो औद्योगिक घराना टाटा ग्रुपलाई औपचारिक रुपमा एयर इण्डियाको स्वामित्व हस्तान्तरण गरेको हो । 

ठूलो घाटामा सञ्चालन भइरहेको एयर इण्डियाको सेयर निजी कम्पनीलाई बेच्ने सरकारको निर्णय अनुसार टाटा ग्रुपले गत अक्टोबरमा १८ हजार करोडमा लिलामी सकार गरेको थियो । त्यसको सम्पूर्ण प्रक्रिया पूरा भएपछि बिहीबार टाटा ग्रुपलाई एयर इण्डियाको शतप्रतिशत सेयर हस्तान्तरण भएको हो । 

एयर इण्डियाको घाटा ७० हजार करोड पुगेको छ । एयर इण्डियासँग हाल १ सय ३० विमान छन् । एयर इण्डियाको शतप्रतिशत सेयर टेलेस प्रालि कम्पनीलाई हस्तान्तरण भइसकेको छ । सो कम्पनी टाटासँगको इकाई कम्पनी हो । 

टाटा अब एयर इण्डियाको नयाँ मालिक भएको छ । करीब ६९ वर्षपछि एयर इण्डियाको स्वामित्व पुन: टाटाको हातमा पुगेको हो । टाटाले सन् १९३४ मा एयर इण्डियाको सुरुवात टाटा एयरलायन्सको नामबाट गरेका थिए । 

भारतको सबैभन्दा पूरानो एयरलायन्स यही मानिन्छ । सन् १९४६ मा नाम बदलेर एयर इण्डिया गरिएको थियो । सन् १९४८ मा एयर इण्डियाले मुम्बई–लन्दन पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । 

सन् १९५३ मा सरकारले एयर इण्डियालाई राष्ट्रियकरण गर्दै सरकारी कम्पनीमा परिणत गरेको थियो । अन्तर्राष्ट्रिय उडान गर्ने विमानको नाम इण्डियन एयरलायन्स र डोमेस्टिकको नाम एयर इण्डिया राखिएको थियो । पछि सन् २००७ मा दुबै नामलाई मर्ज गरेर एयर इण्डिया बनाइएको थियो । 


प्रतिक्रिया