केन्यामा कर वृद्धिको विरोधमा प्रदर्शन, ६ जनाको मृत्यु

असार २८, २०८०

केन्यामा कर वृद्धिको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ६ जनाको मृत्यु भएको प्रहरी अधिकारीलाई उद्धत गर्दै संमाचार संस्था एएफपीले जनाएको छ । हिंसात्मक घटना बढेपछि गृहमन्त्री किथुरे किन्डिकीले प्रदर्शनकारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । विरोध प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नैरोबी र आसपासका क्षेत्रबाट प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रु ग्यास प्रहार गरेको थियो ।

राजधानी बाहिरिको भागमा रहेको म्लोलोन्गो र किटेनगेला शहरमा पाँच जनाको मृत्यु भएको छ । यस्तै, मोम्बासाको बन्दरगाह शहरलाई जोड्ने राजमार्गमा आक्रमणकारी माथि अश्रु ग्यास प्रहार गर्दा एक जनाको मृत्यु भएको थियो । अश्रुग्यासका कारण नैरोबीको काङ्गेमी बस्तीका दर्जनौं बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुखले ५३ जना बालबालिकालाई अस्पताल भर्ना गरिएको बताएका छन् । विपक्षी नेता रैला ओडिङ्गाले सरकारविरुद्ध कर कानुनको विरोध अभियानलाई सशक्त तुल्याउँदै प्रदर्शनमा उत्रन आहृवान गरेका थिए । पूर्वसूचना बिना केन्यामा विरोध प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था छ । सो प्रावधानको अवहेलना गर्दा सुरक्षा निकायले कारबाही गरेका बताइएको छ । 


प्रतिक्रिया