डडेलधुराबाट कांग्रेस सभापति देउवा चुनाव लड्ने

रेडियो कान्तिपुर संवाददाता

मंसिर २५, २०८२ | काठमाडौं

नेपाली कांग्रेसको डडेलधुरा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि केन्द्रिय सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

 त्यस्तै, समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको कांग्रेस जिल्ला सचिव हेमराज चटौतले बताउनुभयो । कांग्रेस सभापति देउवा आठौं पटक संसदको निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । गृहजिल्ला डडेलधुराबाट देउवा २०४८ सालदेखि लगातार चुनाव जित्दै आउनुभएको छ ।

 आगामी महाधिवेशनपछि पार्टीको नेतृत्वबाट अलग हुने भएपनि देउवाले संसदीय चुनावमा भने प्रतिस्पर्धा गर्न लाग्नुभएको हो । उहाँका निकट नेताहरुका अनुसार, देउवाले आफू फेरि चुनाव लड्ने र त्यसका लागि तयारीमा जुट्न जिल्ला स्तरिय नेताहरुलाई आग्रह गरिसक्नुभएको छ । 


प्रतिक्रिया