गाजा युद्धमा १५ हजार बालबालिकाको मृत्यु, ८ हजारमा कुपोषणको समस्या

जेष्ठ ३१, २०८१ | काठमाडौं

गाजामा इजरेल र हमासको युद्धका कारण अहिलेसम्म १५ हजार ६ सय ९४ जना बालबालिकाको मृत्यु भएको छ ।

जारी युद्धको २ सय ५० दिनको अवधिमा सो संख्या बालबालिकाको मृत्यु भएको गाजा सरकारलाई उद्दृत गर्दै समाचार संस्था अलजजिराले जनाएको हो ।

त्यस्तै, १७ हजार बालबालिका अभिभावकविहीन बनेको अलजजिराले उल्लेख गरेको छ । युद्धकै कारण गाजाको दक्षिणी क्षेत्रमा ५ वर्ष मुनिका ८ हजार बालबालिका कुपोषणको शिकार भएका छन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सो क्षेत्रका बालबालिकामा विपत्तिजनक भोक समस्या रहेको भन्दै चेतावनी जारी गर्नुभएको हो । गाजाको उत्तरी क्षेत्रमा खाद्यन्नको चरम अभाव भएको अलजजिराले जनाएको छ ।

यसैबीच, हमासले इजरेलसँग युद्धविराम गर्ने विषयलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ । तर, युद्धविराम प्रस्तावमा हमासले गरेको संशोधनको माग व्यवहारिक नभएको अमेरिकाको तर्क छ । 


प्रतिक्रिया