दक्षिण कोरियामा सैन्य शासनका लागि प्रयास गरेका राष्ट्रपतिविरुद्ध महाभियोगको प्रस्ताव
मंसिर १९, २०८१ | काठमाडौं
दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । विश्व समुदायलाई चकित पार्ने गरी मार्सल कानुन लागू गरेको केही घण्टामै राष्ट्रपति युन मार्सल कानुन फिर्ता गर्न समेत बाध्य हुनुभएको छ ।
राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय सभामा प्रवेश गरेर सो निर्णयमाथि मतदान गरेका थिए ।
संसदमा उपस्थित सबै १ सय ९० सांसदहरूले मार्सल कानुनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गर्नु भएको थियो । तर आज सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया सुरु गरेका हुन् ।
सांसदहरूले अब आगामी दिनहरूमा राष्ट्रपतिविरुद्धको महाभियोगमा मतदान गर्नेछन् । संसद्को दुई तिहाई बहुमतबाट महाभियोग अनुमोदन भएको खण्डमा युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ ।
महाभियोग पारित भयो भने त्यसको ६० दिनभित्र नयाँ निर्वाचन हुनेछ । राष्ट्रपति युनले दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिष्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्वहरूलाई परास्त गर्न मार्सल कानुन आवश्यक भएको दाबी गर्नु भएको थियो ।
उत्तर कोरियालाई उद्धृत गरे पनि राष्ट्रपति युनको निर्णयलाई घरेलु दबाब र घोटालाहरूको श्रृंखलाको प्रतिक्रियाको रूपमा हेरिएको छ ।