दुई दशकपछि बहुमतीय आधारमा सभामुख चयन, देवराज घिमिरे निर्वाचित

माघ ५, २०७९ | काठमाडौं

गत मंसिरमा सम्पन्न आम निर्वाचनको दुई महिनापछि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले सभामुख पाएको छ । सत्तारुढ दलहरुको समर्थनमा एमालेका सांसद देवराज घिमिरे सभामुख निर्वाचित हुनुभयो । प्रतिनिधि सभाको बिहीबारको बैठकले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । 

घिमिरेले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्नुभयो । प्रतिनिधि सभाको बैठकमा भएको मत विभाजनमा घिमिरेको पक्षमा १६७ मत परेको छ । उहाँको विपक्षमा एक सय मत परेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ जना सांसद उपस्थित थिए । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उहाँलाई जेष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गर्नु भएको हो ।

सांसद सुवास चन्द्र नेम्वाङले घिमिरलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर बिहीबारको प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्नु भएको थियो । नेम्बाङको प्रस्तावमा राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डेले समर्थन गर्नु भएको थियो ।

नेपालको संसदीय इतिहासमा दोस्रो पटक बहुमतीय आधारमा प्रतिनिधि सभाको सभामुख चुनिएको हो । २०५१ साल बाहेक त्यसअघि र पछिका सबै सभामुख निर्विरोध निर्वाचित भएका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकले सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।

घिमिरेलाई सभामुख बनाउने पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसद अमरेश कुमार सिंह, प्रभु शाह र योगेन्द्र मण्डलले मतदान गरेका थिए । कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए । 

एक सिट भएको नेपाल मजदुर किसान पार्टी भने मत विभाजनमा तटस्थ बसेको थियो । यसैबीच, नवनिर्वाचित सभामुख देवराज घिमिरेले बोली र व्यवहार दुवैमा निष्पक्ष र तटस्थ भूमिका निभाउने बताउनु भएको छ । उहाँले विगतका सभामुखले गरेका कमी कमजोरीबाट शिक्षा लिएर अघि बढ्ने समेत बताउनुभयो ।

प्रतिनिधिसभाको पहिलो यात्रामै घिमिरेले सभामुख बन्ने मौका पाउनुभएको हो । २०१५ सालको पहिलो संसद र २०४७ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बनेको संसदको इतिहास अनुसार घिमिरे नेपालको नवौं सभामुख हुनुहुन्छ । सवैधानिक निकायका पदाधिकारीहरु नियुक्तिको सिफारिस गर्ने सवैधानिक परिषदको पदेन सदस्यदेखि सरकारका काम कारबाहीको अनुगमन, नियन्त्रण गर्ने संसदको प्रमुखको भूमिका निर्वाह गर्नुपर्ने भएकाले पनि सभामुख पद महत्वपूर्ण मानिन्छ । 

पहिलो आम निर्वाचन भएको २०१५ सालदेखि २०७९ सम्मको संसदमा नेपाली कांग्रेसका ४ जना र वामपन्थी दलको तर्फबाट ५ जना सभामुख भएका छन् । नेपालको संसदीय इतिहासमा दोस्रो पटक बहुमतीय आधारमा प्रतिनिधि सभाको सभामुख चुनिएको हो । दुई दशक अघि २०५१ सालमा द्धिपक्षीय प्रतिस्पर्धाबाट सभामुख चयन गरिएको थियो । 

२०५१ सालमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल एमालेका उम्मेदवार सीपी मैनालीलाई हराएर सभामुखमा निर्वाचित हुनुभएको थियो । त्यसअघि र पछिका सबै सभामुख निर्विरोध निर्वाचित भएका थिए । २०१५ सालको पहिलो संसदमा कृष्णप्रसाद भट्टराई निर्विरोध चयन हुनु भएको थियो । पुर्नस्थापित प्रतिनिधि सभा र दुबैपटकको संविधान सभामा निर्विरोध रुपमा सभामुख चयन भएको थियो । तीनै पटक एमालेका सुवास चन्द्र नेम्वाङ निर्विरोध निर्वाचित हुनु भएको थियो । 

२०४८ सालमा दमननाथ ढुंगाना, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसददेखि पहिलो र दोस्रो संविधान सभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रुपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको ५ वर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख हुनु भएको थियो । मुलुक संघीय संरचनामा गएपछि दुई पटक भएको सभामुखको निर्वाचन दुबै पटक निर्विरोध भएको थियो । 

२०७४ फागुनमा भएको निर्वाचनमा माओवादी केन्द्रका महरा निर्विरोध हुनु भएको थियो । महराको राजीनामा पछि २०७६ माघमा सापकोटा पनि निर्विरोध चुनिनु भएको थियो । नयाँ सभामुख निर्वाचनपछि अब उपसभामुख चयनका लागि आगामी माघ ७ गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिनुभएको हो । उपसभामुख सत्तारुढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ ।


प्रतिक्रिया