मुगु सामूहिक हत्यामा संलग्न २ जना पक्राउ

कार्तिक २४, २०८० | वीरेन्द्रनगर

मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको एकै परिवारका चार जनाको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही र छायाँनाथ–६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा छन् । 

शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घरबाट आज पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताउनुभयो । यही कात्तिक ८ गते मन्दुगाउँकी २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज, ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो । मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए ।

 दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए । हत्याको मुख्य योजनाकार बोहराले गोर्खराजलाई भेटी मृतकसँग १०÷१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए ।

 कात्तिक ८ गते राति शाही र बोहराले श्रीदेवी सहित ४ जनाको हत्या गरेका थिए । उनीहरुले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका फरार भएका थिए । 

घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर सुर्खेततर्फ बसमा भागेको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले जानकारी दिनुभयो ।

घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिनु भएको थियो । 


प्रतिक्रिया