गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

चैत्र २१, २०८० | कास्की

गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनु भएको छ । मुख्यमन्त्री पाण्डेले आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाउनु भएको हो । 

संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिनु भएको हो । गत फागुन २३ मा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान अनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर, मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिनु भएको हो ।

कांग्रेसका नेता पाण्डे गत बैशाख १५ मा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । सरकार बनाउन गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक बनेको छ । चैत २७ गतेसम्म राप्रपाको आफ्नै कार्यक्रम रहेकाले सरकारमा जान्छ वा जाँदैन भन्ने टुंगो लागेको छैन । 

राप्रपाको टुंगो नलाग्दासम्म संसदमा ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री हुने योजना अनुसार पाण्डेले राजीनामा दिनुभएको हो । 

सरकार बनाउन गण्डकीमा ३१ सिट आवश्यक पर्छ । ६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसको २७, एमालेको २२, माओवादीको ८, राप्रपाको २ रस्वतन्त्र सांसद एक जना छन् ।

एमाले–माओवादी मात्र भएर सरकार गठन गर्ने स्थिति छैन । एमाले–माओवादीलाई राप्रपाको साथ चाहिन्छ भने कांग्रेसले पनि सहजै सरकार बनाउने स्थिति छैन । 

चैत ५ मा स्वतन्त्र सांसद दीपक मनाङेलाई भौतिक मन्त्री बनाएका मुख्यमन्त्रीले राप्रपालाई सहमतिमा ल्याउने प्रयास जारी राख्नु भएको छ । 

राप्रपाले साथ दिएपनि सरकार बनाउने स्थिति नरहेपछि मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्ह लिएर गोरखाबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालाई सहमतिमा ल्याउने पहल थाल्नु भएको छ । देवकोटाले साथ दिएमा पाण्डे नेतृत्वको सरकार बन्नेछ ।


प्रतिक्रिया