कान्तिपुरका अध्यक्ष सिरोहियालाई अदालतमा उपस्थित गराइयो

जेष्ठ ९, २०८१ | काठमाडौं

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले अध्यक्ष सिरोहियालाई सरकारी वकिलको कार्यालय मार्फत धनुषा जिल्ला अदालतमा उपस्थित गराएको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको थियो । अहिले जिल्ला अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । 

सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको भन्दै प्रहरीले हिजो कान्तिपुरको कार्यकक्षबाटै पक्राउ गरेको थियो । गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नागरिकता सम्बन्धी अनुसन्धानका लागि भन्दै पक्राउ गरिएका सिरोहियालाई प्रहरीले स्थलमार्ग हुँदै धनुषा पुर्‍याएको हो । 

प्रहरीले अदालतबाट थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्ने जनाएको छ । प्रहरीले नागरिकता सम्बन्धी उजुरी परेको भन्दै पक्राउ गरे पनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आउनुभएको छ । 

सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन गृहमन्त्री लामिछानेको संलग्नताका विषयमा कान्तिपुर मिडिया ग्रुप अन्तर्गतका सञ्चारमाध्यमले निरन्तर समाचार प्रकाशन र प्रसारण गरिरहेको छ । 

आफूविरुद्ध समाचार आएपछि रुष्ट गृहमन्त्री लामिछानेकै निर्देशनमा नागरिकता सम्बन्धी अनुसन्धानको बहानामा प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै पक्राउ गरेको थियो । 

स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयमै पुगेको थियो । 


प्रतिक्रिया