सामाजिक सुरक्षा भत्ता लिन ९० वर्ष माथिका नागरिकलाई राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने

असार १०, २०८१ | काठमाडौं

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि ९० वर्ष माथि उमेर समूहका जेष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र आवश्यक नपर्ने जनाएको छ ।

विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि राष्ट्रिय परिचय पत्र आवश्यक पर्ने निर्णय गरेसँगै प्रशासन कार्यालयमा भिडभाड भएको जनाउँदै गृहमन्त्रालयले सो वर्गका लागि परिचयपत्र नम्बर नचाहिने जनाएको छ । मन्त्रालयले आफूलाई अनुकूल समयमा परिचयपत्र लिन सक्ने व्यवस्था गरेको हो ।


प्रशासन कार्यालयमा जेष्ठ नागरिक तथा अशक्तहरुलाई सेवा लिन सहज नभएको गुनासो बढेपछि सो व्यवस्था गरिएको गृहमन्त्रालयका सहसचिव एवंम प्रवक्ता नारायणप्रशाद भट्टराइले बताउनुभयो ।

जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई पालिकाको समन्वयमा वडा तहमै विवरण संकलनको व्यवस्था मिलाउन भनिएको गृहमन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय परिचय पत्र लागू भएका २८ जिल्लामा ४ सय ३८ जना विवरण संकलक खटाइएको छ भने, आवश्यक परेमा सो संख्या बढाउन सक्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृहमन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेसँगै पक्ष विपक्षमा विभिन्न कोणबाट वहस भइरहेको छ ।  


प्रतिक्रिया