कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

असार २, २०८१ | काठमाडौं

सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संस्थाका अध्यक्ष ४३ वर्षीय तेजविक्रम थापा, ४४ वर्षीया सजना राजकर्णिकार, ४७ वर्षीय सञ्जय सापकोटा, ५३ वर्षीय भीमसेन महर्जन पक्राउ गरेको हो । उनीहरुविरुद्ध ९४ करोड रुपैयाँ बढी ठगी गरेको आरोप लागेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेकी काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एउटा भ्यान र मोवाइलसहितका सामग्री नियन्त्रणमा लिइएको एसएसपी भट्टराईले बताउनुभयो ।

देशका विभिन्न स्थानमा रहेका सहकारीको रकम अपचलनको घटना बढिरहेका बेला प्रहरीले ललितपुरस्थित एक प्रमुख सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको हो ।


प्रतिक्रिया