सत्ता समीकरण फेरबदल नहुने प्रधानमन्त्री ओलीको भनाई

भाद्र २१, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले अराजकताले ठाउँ पाउने वा सत्ता समीकरण यताउता हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ । नेपाल समाजवादी पार्टीले शान्ति प्रक्रियाका काम टुंग्याउने सम्बन्धमा आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री र एमालेको अध्यक्ष हुँदासम्म चर्चामा ल्याइएजस्तो नेपाल बंगलादेश वा श्रीलंकाको जस्तो घटना हुने स्थिति नहुने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्ने उहाँले बताउनुभयो । अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना नरहेको भन्दै प्रधानमन्त्री ओलीले अबको २२ महिने कार्यकालभित्र सङ्क्रणकालीन न्याय टुङ्गो लाग्ने गरी काम गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणाद्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने उल्लेख गरेको उहाँको सचिवालयद्वारा जारी प्रेसनोटमा उल्लेख छ ।

समाजवादी पार्टीका संयोजक भट्टराईले दुई ठूला दलको सरकार बनेकाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा लाने अवसर भएकाले यसमा आफूहरुको साथ रहने अवगत गराउनुभयो । सो पार्टीले आयोगहरु गठन गर्दा राष्ट्रियअन्तर्राष्ट्रियरुपमा स्वीकार्य व्यक्तिलाई छनोट गर्न, आयोगमा पीडितको प्रतिनिधि राख्न र परिपूरणका विधि र मापदण्डबारे स्पष्ट हुनुपर्ने लगायत माग राखेको छ ।


प्रतिक्रिया