सरकारी कर्मचारीको खाजा खाने समय कटौती

भाद्र २४, २०८१ | काठमाडौं
सरकारले कर्मचारीको खाजा खाने समय कटौती गरेको छ । सेवाग्राहीलाई छिटो सेवा दिन भन्दै सरकारले कर्मचारीको खाजा खाने समय घटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै सरकारी कर्मचारीको खाजा खाने समय आधा घण्टा तोकिएको जानकारी दिनु भएको हो ।
कतिपय सरकारी कार्यालयमा खाजा खाने समय १ घण्टा लिने गरिएका कारण सेवाग्राहीलाई असर परेका गुनासो आएसँगै सो निर्णय लिइएको प्रधानमन्त्री ओलीको भनाई छ ।
उहाँले लेख्नुभएको छ, ‘सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन ।’
अब हरेक दिन साढे एकदेखि २ बजेसम्म खाजा खाने समय तोकिएको छ । यसैबीच, कार्यालयको खाजा समयबारे कसैले नियम उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा उजुरी गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।