सत्तारुढ एमालेको सचिवालय बैठक आज बस्दै

कार्तिक ४, २०८१ | ललितपुर

सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमसँगै विवादास्पद बनेको पार्टी कार्यालय भवन निर्माणको विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको नेताहरुले बताएका छन् । 

विवादास्पद व्यवसायी मिनबहादुर गुरुङले काठमाडौंको कीर्तिपुरस्थित पार्टी कार्यालय भवन बनाइदिने विषयमा एमालेकै केही नेताहरुले असन्तुष्टि जनाएपछि सो विषयमा सचिवालयमा आज छलफल हुन लागेको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका सञ्चालक समेत रहेका गुरुङले संयुक्त रुपमा शिलान्यास गरेपछि स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेसहितका नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

व्यवसायी गुरुङले दान दिएको भनिएको १० रोपनी १४ आना जग्गाको विषमा सर्वत्र आलोचना भईरहेको छ । विवादित व्यवसायीबाट दानलिएर एमालेको पार्टी कार्यलय बनाउने विषयमा सत्ता सहयात्री कंग्रेसले समेत आलोचना गरेको छ ।

व्यापारीले दान दिएर पार्टी कार्यालय बनाउने विषयमा गम्भीर प्रश्न उठेकाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले जवाफ दिनुपर्ने काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केही दिनअघि बताउनुभएको थियो । 

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अपराह्न ५ बजे बस्ने बैठकमा स्थानीय तह उपननिर्वाचनको विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । साथै सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ र समर्थकद्धारा प्रधानमन्त्रीको विरोधका विषयमा समेत बैठकमा छलफल हुने बुझिएको छ ।


प्रतिक्रिया