रास्वपा सभापति लामिछानेलाई आज अदालतमा पेस गरिँदै

कार्तिक ४, २०८१ | काठमाडौं

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । 

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराउन लागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । 

लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा माग गर्ने तयारी प्रहरीको छ । म्याद थपपछि प्रहरीले उहाँविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ ।

उनलाई स्थलमार्ग हुँदै हिजो बिहान पोखरा लगिएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताउनुभयो । यसअघि पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँगै मुद्दा प्रक्रिया अघि बढाइने डीएसपी शर्माको भनाई छ ।

जोशीको बयान भने सकिएको डीएसपी शर्माले जानकारी दिनुभयो । जोशीले सहकारीबाट रकम ल्याएर गोर्खा मिडिया मार्फत अपचलन गर्ने कार्यमा जीबी राई, लामिछाने लगायत संलग्न रहेको भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । 

डीएसपी शर्माका अनुसार पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा हालसम्म ६० जनालाई प्रतिवादी बनाइएको छ । त्यसमध्ये ७ जनालाई अदालतबाट अनुमति लिएर र २ जनालाई जरुरी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिइएको थियो । 

यसअघि पक्राउ परेर मुद्दा चलाइएका मध्ये ६ जना पुर्पक्षका लागि हिरासतमा रहेको पनि उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया