ओडिसा घटनाः संघीय सरकारको दुबै सदनबाट सरकारको ध्यानाकर्षण

फाल्गुन ६, २०८१ | काठमाडौं

भारतको ओडिसास्थित कलिंगा विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु र त्यसपछि नेपाली विद्यार्थीहरुमाथि भएको दुव्र्यवहारको घटनाबारे संघीय संसदका दुवै सदनमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभामा बोल्दै सांसदहरुले विदेशी भूमिमा नेपालीबारे धावा बोल्ने काम भएकाले सरकारले उचित कूटनीतिक कदम चाल्नुपर्नेमा माग समेत गरेका छन् । 

सांसद राधेश्याम पासवानले ओडिसा घटनाको अविलम्ब र सत्यतथ्य छानबिन हुनुपर्ने बताउनुभयो । त्यस्तै सांसद कृष्णबहादुर रोकायाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारलाई शिघ्र कूटनीतिक पहल चाल्न माग गर्नुभयो । सांसद मदन कुमारी शाहले गरिब देशको नागरिक हुनुको पीडा ओडिसा घटना उदाहरण भएको बताउनुभयो । 

त्यस्तै, प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार गम्भीरतापूर्वक रुपमा लिनुपर्ने बताएका छन् । नेपाली कंग्रेसका उदयशमशेर राणा, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, रास्वपा सांसद मनिष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुबबहादुर प्रधान लगायतले यसबारे ध्यानाकर्षण गराएका हुन् । यसैबीच, सो घटनालाई लिएर व्यापक आलोचना भएको छ । काठमाडौंमा केही विद्यार्थी संगठनले विरोध प्रदर्शन समेत गरेका छन् । 


प्रतिक्रिया