ललितपुर स्पोट्र्स अवार्ड आगामी वैशाखमा हुने

फाल्गुन २५, २०८१ | काठमाडौं
ललितपुर स्पोट्र्स अवार्ड २०८१ आयोजना हुने भएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने अवार्ड कार्यक्रम आगामी बैशाख २७ गते हुने तय भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै अवार्ड कार्यकम सातदोबाटोस्थित कराँते एकेडेमी हलमा आयोजकले जनाएको हो ।
२०८१ साल वैशाख १ देखि चैत मसान्तसम्म स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल ललितपुर जिल्लाका खेलाडीहरुका लागि अवार्ड कार्यक्रम गर्न लागिएको हो ।
ललितपुर जिल्लाबाटै सहभागी भएका खेलाडीलाई प्रोत्साहन गर्न जिल्लाका खेलाडीहरुलाई मात्र अवार्ड कार्यक्रममा सहभागी गरिने र विभागीय खेलाडीलाई समावेश नगरिने आयोजकले जनाएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रायोजकमा हुने ललितपुर स्पोट्र्स अवार्डमा तीन विधा सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिनेछ ।
उनीहरुलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट महिला र पुरुष खेलाडी तथा प्रशिक्षकलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
सर्वोत्कृष्ट तथा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकहरुलाई पाटन कृष्ण मन्दिर रहेको ट्रफी प्रदान गरिनेछ । छनोट समितिले महिला, पुरुष र प्रशिक्षक विधामा उत्कृष्ट ३ जनाको नाम सिफारिस गर्ने र त्यसबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।
अवार्ड कार्यक्रमको बजेट करिब ३० लाख रहेको आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।