मुस्लिम धर्मावलम्बीले मनाए ईद

चैत्र १८, २०८१ | काठमाडौं

मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र मनाएका छन् । आज बिहानै मुस्लिम धर्मावलम्बीहरू शुद्ध भई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढी एक आपसमा मित्रवत् रूपमा शुभकामना साटासाट गरेका छन् । ईद उल फित्र मुस्लिम समुदायको महत्त्वपूर्ण चाडमध्ये एक हो ।

यो चाड इस्लामिक पात्रो अनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । काठमाडौँको जामे मस्जिद, टुँडिखेल लगायत विभिन्न स्थानमा मुस्लिम धर्मावलम्बीहरूले नमाज अदा गरी ईद उल फित्र मनाइरहेका छन् ।

देशभरका विभिन्न मस्जिदहरूमा मुस्लिम धर्मावलम्बीहरूको भीड लागेको छ । उनीहरूले एक आपसमा शुभकामना साटासाट गर्दै ईद उल फित्र मनाइरहेका छन् ।

ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । रोजाको अवधिमा मुस्लिम धर्मावलम्बीले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख-सुविधाबाट टाढा रहन्छन् । यस अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति तथा आत्मसंयमको अभ्यास गरिन्छ ।


प्रतिक्रिया