संसदीय गतिरोध लम्बियो

चैत्र १७, २०८१

५ वटा प्रतिस्थापन विधेयक पारित गर्दै भोलिसम्म राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्ने अवस्थामा सत्तापक्ष र प्रतिपक्षीबीचको टकरावका कारण संसदीय गतिरोध लम्बिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएकोमा गत शुक्रवार काठमाडौंमा राजावादीले गरेको हिंसात्मक आन्दोलनको विषयलाई लिएर दुई पक्षबीच भनाभन भएपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । ११ बजेका लागि निर्धारित भएपनि ढिलो गरी शुरु भएको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच राजावादीको प्रदर्शनको विषयलाई लिएर आरोप–प्रत्यारोप चलेपछि संसद प्रभावित भएको थियो । १५ मिनेटका लागि स्थगित बैठक शुरु हुन नसकेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्षीबीच वाद विवाद भएपछि सभामुख देवराज घिमिरेले संसद सञ्चालनका लागि पटक पटक आग्रह गर्नुभएको थियो ।

प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाइरहेका बेला सत्तापक्षका सांसदले राजावादीको प्रदर्शनको विषय उठाएर चर्को अभिव्यक्ति दिएका थिए । सभामुख घिमिरेले पछिल्लो समय सडकमा देखिएका असन्तुष्टी र राजनीतिक परिस्थितिबारे बहस संसदभित्र हुनुपर्ने भन्दै बैठक सञ्चालनका लागि आग्रह गर्नुभएको थियो ।

बैठकमा सत्तारुढ एमाले र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच झन्डै आधा घन्टा भनाभन भएको थियो । स्थिति सामान्य नभएपछि सभामुख घिमिरेले बैठक स्थगित गर्नुभएको हो । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग गरिरहेका छन् । सरकारले ल्याएका ५ वटा प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पारित भएपनि राष्ट्रिय सभाबाट पारित हुन बाँकी छ । यसैबीच, राष्ट्रिय सभा बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ । राष्ट्रिय सभाबाट प्रतिस्थापन विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा सुनाएपछि प्रमाणिकरणको प्रक्रियामा जानेछ ।  


प्रतिक्रिया