आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानविन शुरु

असार ५, २०८२ | काठमाडौं

न्याय परिषद्ले पूर्वमन्त्री एवम् कांग्रेस नेता मोहम्मद आफताब आलमललाई सफाइ दिने न्यायाधीशहरु खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । 

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्धय थारु र महर्जन न्याय परिषदमा तानिएसँगै छानबिन सुरु हुने परिषद श्रोतले जनाएको छ । न्यायपरिषदको आज बसेको बैठकले न्यायाधीशद्वयमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा छानबिन समिति समेत गठन भएको छ । अब सो समितिले परिषदमा परेका उजुरीमाथि छानबिन गर्नेछ । 

यसअघि, सो घटनाका पीडित परिवारले सोमबार तथ्यप्रमाणभन्दा बाहिर गएको भन्दै सफाइ दिने न्यायाधीशद्वयमाथि छानबिनका लागि परिषदमा उजुरीसमेत दिएका थिए । त्यस्तै, फैसला भएको दुई दिनपछि नै अभियन्ता युवराज सफलले पनि न्यायाधीशद्वयविरुद्ध परिषद्मा उजुरी दिनुभएको थियो । 

जिल्ला अदालत रौतहटले गत वर्ष असारमा आलम र अन्य तीन जनालाई २०६४ साल चैत २७ गते बम विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई राजापुरस्थित इँटाभट्टामा जलाएको कसुरमा जन्मकैदको सजाय गरेको थियो । सो विरुद्ध भएको पुनरावेदनको सुनुवाइमा गत जेठ १४ गते न्यायाधीशद्वयको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको थियो ।  


प्रतिक्रिया